वीरगन्ज, असोज २७
काठमाडौंमा प्रहरीले हवाई फायर गरेर ठूलो परिमाणमा लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित वीरगन्जका एक जनालाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका–४ बाट पर्साको वीरगन्ज महानगरपालिका–३१ निवासी ४१ वर्षीय बसरुदिन मियाँलाई पक्राउ गरेको हो। उनको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोबाइल बरामद गरिएको ब्यूरोले जनाएको छ।
ब्यूरोका अनुसार भारतबाट वीरगन्ज नाका हुँदै काठमाडौं उपत्यकामा लागूऔषध आपूर्ति गर्ने गिरोहको पहिचान गरी निगरानी गर्ने क्रममा मंगलबार मियाँ शंकास्पद अवस्थामा फेला परेका थिए।
प्रहरीले उनलाई रोकेर जाँच गर्न खोज्दा प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेपछि चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरेर नियन्त्रणमा लिइएको जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा मियाँले पछिल्लो तीन महिनामा २०० ग्रामका दरले पाँचदेखि छ पटकसम्म काठमाडौं उपत्यकामा खैरो हेरोइन आपूर्ति गरिसकेको खुलेको ब्यूरोले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।



