गिभ नेपाल सामाजिक संस्थाको वीरगन्जमा औपचारिक समुद्घाटन

Spread the love

१० जेठ, वीरगन्ज 

 वीरगन्ज महानगरपालिका वडा नं. २१ मा गिभ नेपाल सामाजिक संस्थाको औपचारिक समुद्घाटन कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। होटल कुमु प्यालेसमा आयोजित विशेष समारोहका बीच उक्त संस्थाको औपचारिक रूपमा शुभारम्भ गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. २१ का अध्यक्ष राधा कृष्ण रौनियारले रिबन काटेर संस्थाको उद्घाटन गरे। उनले गिभ नेपाल सामाजिक संस्था आजदेखि समाजमा सकारात्मक परिवर्तनका लागि औपचारिक रूपमा क्रियाशील भएकोमा खुसी व्यक्त गर्दै शुभकामना दिए। साथै, समाजका विकृति, महिला हिंसा, शिक्षा, खेलकुदलगायतका क्षेत्रमा संस्थासँग हातेमालो गरेर काम गर्न आफू तत्पर रहेको बताए।

कार्यक्रममा परवानीपुर गाउँपालिका वडा नं. ४ का पूर्व वडा अध्यक्ष गजेन्द्र पटेलले युवाहरूको अग्रसरतामा स्थापना भएको संस्थाले समाजमा आमूल परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। उनले स्थानीय नेताहरू र जनप्रतिनिधिहरूलाई संस्थालाई सहयोग गर्न आह्वान गरे।

त्यसैगरी, प्रतीक डेली समाचार अनलाइनका सम्पादक आनन्द पटेलले गिभ नेपाल सामाजिक संस्थाले समाजमा रहेका विविध विकृति र समस्याहरूको विरुद्धमा आवाज उठाउने विश्वास व्यक्त गर्दै शिक्षा, खेलकुद, सरसफाइ र महिला हिंसाका विषयमा स्थानीय सरकारसँग सहकार्य गर्न सुझाव दिए।

वीरगन्ज वडा नं. २१ का पूर्व वडा अध्यक्ष हबीब मियाले संस्थाको हरेक प्रयासमा साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए।

उक्त अवसरमा तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक महमद वेश शेख, ठाकुरराम बहुमुखी क्याम्पसका सभापति राज यादव, सञ्चारकर्मी निलम पन्त, गिभ नेपालका उपाध्यक्ष सिमरन कुमारी, सचिव नन्दनी कुमारी साह, सह-सचिव सुमोद कुमार तिवारी, कोषाध्यक्ष आशिका शाह, सदस्यहरू साहेब आलम, राहुल रौनियार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम गिभ नेपाल सामाजिक संस्थाका अध्यक्ष शुशिल कुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो। उनले सबैको साथ र समर्थनमा संस्था समाजमा उदाहरणीय कार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

Scroll to Top