गौतम मावि र अभिभावकबीच सहमति

Spread the love

वीरगञ्ज , वैशाख २८

वीरगञ्ज महानगरपालिका–१३ स्थित गौतम माध्यमिक विद्यालयमा प्रवेश परीक्षा तथा विद्यालय परिसरमा भएको भीडभाडका क्रममा उत्पन्न विवाद अन्ततः आपसी सहमति र मेलमिलापमार्फत समाधान गरिएको छ ।

विद्यालय प्रशासन र अभिभावक पक्षबीच भएको सहमतिअनुसार दुवै पक्षले भविष्यमा सुमधुर सम्बन्ध कायम राख्दै यस्ता घटना पुनः नदोहोरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सहमति–पत्र अनुसार नयाँ शैक्षिक सत्र २०८३ वैशाख १६ गतेदेखि विद्यालय सञ्चालन भइरहेको अवस्थामा वैशाख २१ गते विद्यालय परिसरभित्र विद्यार्थीहरूका लागि प्रवेश परीक्षा सञ्चालन गरिएको थियो । सोही दिन वीरगञ्ज महानगरपालिका र ग्रीनसिटी सामुदायिक संस्थाद्वारा विद्यालय बाहिर नाला सफाइ अभियान सञ्चालन गरिएकाले अभिभावकहरूको अत्यधिक भीडभाड भएको उल्लेख गरिएको छ । उक्त परिस्थितिमा कक्षा १० र कक्षा ८ मा अध्ययनरत केही छात्रा प्रवेश–कार्ड साथमा नल्याई आएका कारण केही समय कक्षाबाहिर बस्नुपरेको अवस्था सिर्जना भएको सहमति–पत्रमा जनाइएको छ ।

विद्यालय प्रशासनले सम्बन्धित छात्रा तथा अभिभावकसँग समुचित संवाद गरी सहज वातावरणमा कक्षामा प्रवेश गराउनु पर्नेमा परिस्थितिवश त्यसो हुन नसकेको स्वीकार गर्दै छात्रा तथा अभिभावकमा परेको मानसिक पीडाप्रति हार्दिक खेद व्यक्त गरेको छ । विद्यालयले उक्त घटना नियतवश नभई परिस्थितिजन्य भएको स्पष्ट पार्दै आगामी दिनमा यस्ता त्रुटि दोहोरिन नदिने प्रतिबद्धता जनाएको छ ।

दुवै पक्षबीच उत्पन्न विवादलाई आपसी समझदारी, सहमति तथा मेलमिलापका माध्यमबाट समाधान गरी सुमधुर सम्बन्ध कायम राख्न सहमति भएको जनाइएको छ ।

सहमति–पत्रमा अभिभावक पक्षका तर्फबाट ललित कर्ण, रमेश कुमार र कुमार शर्मा रहोबाले हस्ताक्षर गरेका छन् भने साक्षीका रूपमा पिन्टु रौनियार र सन्तोष पटेल रहेका छन् । विद्यालय पक्षबाट गौतम माध्यमिक विद्यालय प्रशासन तथा वीरगञ्ज महानगरपालिका–१३ का वडा अध्यक्ष सुरेश प्रसाद गुप्ताले हस्ताक्षर गरेका छन् ।

Scroll to Top