गौतम समाज कल्याण संस्थाद्वारा निःशुल्क भोजन सेवा सञ्चालन

Spread the love

वीरगञ्ज , असोज २५

गौतम माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्ण जयन्तीको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक महिनाको एक शनिबार निःशुल्क भोजन सेवा सञ्चालन गर्दै आएको छ।

यसै अभियानअन्तर्गत गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाको आयोजनामा आज मिति २०८३ साल असोज २४ गते शनिबार वीरगञ्जस्थित घण्टाघरको शिव मन्दिर परिसरमा निःशुल्क भोजन सेवा सञ्चालन गरिएको छ।

उक्त सेवामार्फत गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने करिब २४० जना व्यक्तिहरूले निःशुल्क भोजन ग्रहण गरी लाभ लिनुभएको छ।

कार्यक्रममा गौतम समाज कल्याण संस्थाका अध्यक्ष श्री गणेश क्षेत्री, उपाध्यक्ष श्री ललित कर्ण, सचिव श्री रमेश शर्मा, श्री अल्भिन रेन्जर, श्री सिपेन्द्र गुप्ता, श्री सौराज प्रधानलगायत विद्यालयका शिक्षकहरू तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

विद्यालयको स्वर्ण जयन्तीलाई केवल उत्सवमा मात्र सीमित नराखी समाजप्रतिको सेवा, सहयोग र मानवीय करुणाको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। संस्थाले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यलाई निरन्तरता दिँदै समाजमा सकारात्मक योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

Scroll to Top