बिरगंज, असार १1
साइबर अपराधविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ‘साइबर क्राइम अवेयरनेस वीक’ अन्तर्गत विशेष कार्यक्रम वीरगंजस्थित गौतम स्कूलमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रको उपस्थिति रहेको थियो।
कार्यक्रममा एसपी मिश्रले डिजिटल दुनियाँमा सुरक्षित रहने विषयमा विद्यार्थीहरूलाई महत्वपूर्ण जानकारी प्रदान गर्नुभयो। उहाँले साइबर अपराधका विभिन्न रूपहरू, सम्भावित खतरा, र त्यसबाट बच्ने उपायहरूलाई सरल भाषामा प्रस्तुत गर्नुभयो।
कार्यक्रममा प्रमुख सन्देशहरू:
सोचेर क्लिक गर्नुहोस्: शंका लाग्ने इमेल, लिंक वा अट्याचमेन्ट नखोल्न सुझाव।
मजबुत पासवर्ड प्रयोग गर्नुहोस्: हरेक खाताका लागि फरक र बलियो पासवर्ड राख्न र दुई तह प्रमाणीकरण (2FA) लागू गर्न आग्रह।
एथिकल बन्नुहोस्: अरुको परिचय दुरुपयोग नगर्नु र अनलाइनमा जिम्मेवार व्यवहार अपनाउनु आवश्यक।
अपडेट राख्नुहोस्: प्रयोग गरिने सफ्टवेयर तथा एपहरू नियमित रूपमा अपडेट गर्नु सुरक्षा दृष्टिले अत्यावश्यक।
सावधानीपूर्वक साझा गर्नुहोस्: अनलाइनमा व्यक्तिगत विवरण सजिलै गलत प्रयोगमा पर्न सक्छ, त्यसैले सतर्क रहनुपर्ने।
डिजिटल पाइलाहरूको ख्याल राख्नुहोस्: इन्टरनेट प्रयोग गर्दा बाँकी रहने डिजिटल डाटाले दीर्घकालीन असर पार्न सक्छ।
गौतम स्कूलका विद्यार्थीहरू उक्त कार्यक्रममा सक्रिय रूपमा सहभागी भएका थिए। विद्यालय प्रशासनले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा डिजिटल सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
विद्यालयका प्रधानाध्यापकले पनि प्रहरी प्रशासनप्रति धन्यवाद दिँदै भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ।


