वीरगञ्ज , असोज १६
हिन्दू पत्रकार सङ्घ नेपालको बैठक आज वीरगञ्जस्थित ऐतिहासिक माइस्थान मन्दिर परिसरमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकले सङ्गठनलाई शुद्धीकरण गर्ने, कार्यालय स्थापना गर्ने तथा संस्थाका गतिविधिलाई थप प्रभावकारी र गतिशील बनाउने महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले संस्थामा लामो समयदेखि निष्क्रिय रहेका तीन जना सदस्यहरूलाई हटाउने निर्णय गरेको छ। यसैगरी, वर्तमान कोषाध्यक्ष आनन्द पटेल क्रियाशील पत्रकार सङ्घको अध्यक्ष पदमा चयन भएकाले उनले हिन्दू पत्रकार सङ्घको कोषाध्यक्ष पदबाट स्वेच्छिक रूपमा राजीनामा दिएका छन्। उनको स्थानमा कन्हैया पटेललाई कोषाध्यक्षको नयाँ जिम्मेवारी सुम्पिएको छ।
उक्त बैठकमा उपाध्यक्षद्वय विनोद पटेल र बिमला गुप्ता, सचिव राजकुमार सराफ, नवनियुक्त कोषाध्यक्ष कन्हैया पटेल तथा सदस्यहरू रश्मि राजभण्डारी, अनिल ओझा, सन्तोष कुशवाहा, राजु बैठा र आनन्द पटेललगायतका पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति रहेको थियो।
आजका निर्णयहरूले संस्थालाई सकारात्मक र गतिशील ऊर्जा प्रदान गर्नुका साथै आगामी दिनमा सङ्गठनलाई थप सुदृढ र सक्रिय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



