वीरगंज, पर्सा
जेठ ,५
वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा फर्जी भर्नाको छानबिनको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी नेताहरू रिहा भएका छन्।
क्याम्पस प्रमुखसहित केही शिक्षकलाई कार्यकक्षमै थुनेको आरोपमा पक्राउ परेका विद्यार्थी संगठनका नेताहरू आज रिहा भएका हुन्। रिहा हुनेहरूमा स्वतन्त्र युवा समूहका श्याम प्रसाद गुप्ता, समाजवादी विद्यार्थी युनियनका सागिर आलम र अखिल क्रान्तिकारीका अनिस पटेल रहेका छन्।
विद्यार्थी नेताहरूको रिहापछि क्याम्पस प्राङ्गणमा उनीहरूलाई विद्यार्थीहरूको समूहले स्वागत गरेको छ।
उनीहरूले क्याम्पसमा भइरहेको फर्जी भर्ना प्रक्रियाको विरोध गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका थिए। रिहा भएपछि विद्यार्थी नेताहरूले आफूहरूको आन्दोलन मागका लागि भएको र यसप्रति क्याम्पस प्रशासन गम्भीर बन्नुपर्ने बताए।
यस घटनाले क्याम्पसको भर्ना प्रक्रिया, पारदर्शिता र शैक्षिक नेतृत्वमाथि पुनः प्रश्न उठाएको छ। विद्यार्थी संगठनहरूले छानबिन प्रक्रिया पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन्।


