वीरगञ्ज
जेष्ठ ५,
राष्ट्रिय दलित पत्रकार संघ नेपाल, बारा शाखाले पत्रकार राजु बैठामाथि ज्यान मार्ने धम्की दिइएको घटनाको कडा निन्दा गरेको छ र दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेको छ।
संघले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ कि संघका उपाध्यक्ष समेत रहेका पत्रकार राजु बैठामाथि २०८२ जेठ ४ गते राति ९ बजे विश्रामपुर गाउँपालिका–२ का टेट यादवले उनी बस्ने घरमै पुगेर गालीगलौज र ज्यान मार्ने धम्की दिएका थिए। पत्रकार बैठा प्राइम टेलिभिजनसहित विभिन्न सञ्चारमाध्यममा आवद्ध छन्।
धम्कीको कारण भने पत्रकार बैठाले विश्रामपुर गाउँपालिकामा तटबन्ध निर्माणमा भएको अनियमितता र माटो बिक्रीसम्बन्धी समाचार प्रकाशन गर्नु भएको बताइएको छ। उक्त समाचारले असन्तुष्टि जनाउँदै यादवले यस्तो आपराधिक व्यवहार देखाएको विज्ञप्तिमा उल्लेख छ।
संघले प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको भन्दै घटनाको तत्काल छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेको छ। पत्रकारहरूको सुरक्षाको प्रत्याभूति गरिनुपर्नेमा जोड दिँदै संघले यस्ता घटनाले पत्रकारिता पेसामै असर पार्न सक्ने चेतावनी दिएको छ।


