डुम्बरवाना, असोज १७
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुमरवानामा आज बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर तथा स्वयं डेन्टल क्लिनिक शिविर कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता ब्रह्मकुमारी ममता दिदीले गर्नुभएको थियो भने जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, कलैया, बाराका प्रमुख चिकित्सक डा. पुनिता केसी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
शिविरमा दाँत, मुख तथा गिजा रोग विशेषज्ञ डा. Usha mahato तथा डा. प्रनिषा simkhada लगायत विभिन्न क्षेत्रका चिकित्सक, वैद्य तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
शिविरमा स्वास्थ्य परीक्षण तथा उपचारका लागि बिहानैदेखि सयौँ सेवाग्राहीहरूको भीड लागेको थियो। शिविरमा सेवाग्राहीहरूलाई निःशुल्क फुल बडी स्वास्थ्य जाँच, सुगर परीक्षण, तौल परीक्षण तथा रक्तचाप परीक्षण लगायतका स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो।
त्यसैगरी आयुर्वेदिक चिकित्सक तथा वैद्यहरूबाट स्वास्थ्यसम्बन्धी परामर्श तथा उपचार सेवा प्रदान गर्नुका साथै आवश्यकताअनुसार निःशुल्क आयुर्वेदिक औषधिसमेत वितरण गरिएको थियो। दाँत, मुख तथा गिजासम्बन्धी समस्या भएका सेवाग्राहीहरूका लागि विशेष निःशुल्क डेन्टल क्लिनिक सेवा समेत सञ्चालन गरिएको थियो।
आयुर्वेदिक चिकित्सा, प्राकृतिक जीवनशैली तथा नियमित स्वास्थ्य परीक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविरबाट ठूलो संख्यामा स्थानीय सेवाग्राही लाभान्वित भएका छन्। आयोजकका अनुसार यस्ता निःशुल्क स्वास्थ्य सेवामार्फत समुदायमा स्वस्थ जीवनशैली, रोगको समयमै पहिचान तथा स्वास्थ्यप्रति जागरूकता बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

