बिरगंज, जेठ १६
नेपाल हेल्थ कोर्प्स, नेशनल मेडिकल कलेज र ग्लोबल एसोसिएसन अफ इण्डियन मेडिकल स्टुडेन्ट्सको संयुक्त आयोजनामा तथा गौतम माध्यमिक विद्यालयको सहकार्यमा एकदिने निःशुल्क दन्त जाँच तथा मौखिक स्वास्थ्य सचेतना शिविर शुक्रबार सम्पन्न भएको छ।
गौतम माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित उक्त शिविरमा कक्षा १, २ र ३ का सम्पूर्ण विद्यार्थीहरूको दन्त परीक्षण गरिएको थियो। शिविरको उद्देश्य विद्यालय तहका बालबालिकामा प्रारम्भिक दन्त रोगको पहिचान गर्नुका साथै उनीहरूमा मौखिक स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्नु रहेको थियो।
शिविरका दौरान विद्यार्थीहरूलाई दाँत सफा गर्ने तरिका, मुख स्वच्छ राख्नुपर्ने कारण, र दैनिक जीवनशैलीमा अपनाउनुपर्ने दन्त सरसफाइका उपायहरूबारे जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा MBBS र BDS तहमा अध्ययनरत १४ जना स्वयंसेवक विद्यार्थीहरूको टोलीले सक्रिय सहभागिता जनाएका थिए। टोलीको नेतृत्व दन्त तथा मुख स्वास्थ्यमा सक्रिय युवा स्वयंसेवी दिलसाद अहमद खानले गरेका थिए। विद्यालय प्रशासनका अनुसार उक्त टोलीले अत्यन्तै लगनशीलता र समर्पणका साथ परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए।
शिविरमा विद्यार्थीहरू मात्र होइन, विद्यालयका शिक्षक/शिक्षिका तथा अभिभावकसमेत सहभागी भएका थिए। उनीहरूले कार्यक्रमप्रति सन्तुष्टि व्यक्त गर्दै यस्ता स्वास्थ्य शिविरहरूले बालबालिकामा सानैदेखि स्वास्थ्यप्रतिको जिम्मेवारी विकास गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे।
विद्यालयका प्रधानाध्यापकले स्वास्थ्यप्रतिको चेतना अभिवृद्धिमा यस्ता कार्यक्रमहरू अत्यन्त प्रभावकारी हुने बताएका छन्। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू पुनः सञ्चालन गरिने अपेक्षा व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा नेपाल हेल्थ कोर्प्सका प्रतिनिधिहरूले सबै स्वयंसेवक, विद्यालय प्रशासन, शिक्षकगण तथा सहभागी विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्ता जनस्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।
स्वास्थ्यप्रतिको जनचेतना अभिवृद्धिका लागि सामुदायिक स्तरमा आयोजना गरिने यस्ता निःशुल्क शिविरहरू अत्यन्त उपयोगी र आवश्यक हुने भएकाले कार्यक्रम सफल पार्न योगदान गर्ने सम्पूर्ण पक्षप्रति आयोजक संस्थाहरूले विशेष आभार प्रकट गरेका छन्।



