तस्करीको समाचार संकलन गरेर फर्किँदै गरेका पत्रकारमाथि ज्यानलेवा आक्रमण, सञ्चार उपकरण र नगद लुटियो

Spread the love

वीरगन्ज, ३० जेठ 

वीरगन्ज र आसपासका सीमा क्षेत्रमा भइरहेको खुला सिमानाको दुरुपयोग तथा अनधिकृत चोरी पैठारी (तस्करी) सम्बन्धी समाचार संकलन गरेर फर्किँदै गरेका तीन जना श्रमजीवी पत्रकारमाथि मध्यराति संगठित रूपमा ज्यानलेवा आक्रमण भएको छ। समाचारमार्फत अवैध गतिविधि तथा तस्करीका घटनाबारे सत्यतथ्य उजागर गरेकै प्रतिशोधस्वरूप उनीहरूमाथि घातक आक्रमण भएको बताइएको छ।

गत शुक्रबार (जेठ २९ गते) राति करिब १२ः४० बजे वीरगन्ज महानगरपालिका–१० अन्तर्गत सिर्सिया जाने बाटोमा पत्रकार सञ्जय कुशवाहा, रवि वर्णवाल तथा ‘दिशानिर्देश अनलाइन’ का पत्रकार रुस्तम अलीमाथि सांघातिक आक्रमण भएको हो। कार्यालयको काम सकेर घर फर्किने क्रममा उनीहरू सवार मोटरसाइकललाई बीच बाटोमै रोकी आक्रमण गरिएको जनाइएको छ।

बीच सडकमै घेराबन्दी, कुटपिट र लुटपाट

नेपाल पत्रकार महासंघ पर्सा शाखा तथा हिन्दू पत्रकार संघ नेपालद्वारा जारी छुट्टाछुट्टै विज्ञप्तिअनुसार, तस्करीका गतिविधिबारे समाचार प्रकाशन गरेको प्रतिशोधमा चोरी पैठारीमा संलग्न रहेको आरोप लागेका पशुपति यादवको नेतृत्वमा आएको १०–१२ जनाको समूहले पत्रकारहरूलाई बीच सडकमै घेराबन्दी गरी कुटपिट गरेको थियो।

आक्रमणकारीहरूले पत्रकारहरूसँग रहेका मोबाइल फोन, नगद रकम तथा सुनको सिक्रीसमेत लुटेर फरार भएको पीडितहरूले बताएका छन्।

“समाचार बनाएकाले अप्ठ्यारो भयो” भन्दै धम्की

पीडित पत्रकारहरूका अनुसार आक्रमणका क्रममा आक्रमणकारीहरूले तस्करी तथा सुरक्षा निकायसँगको कथित सेटिङबारे समाचार र भिडियो सामग्री सार्वजनिक गरेकाले आफूहरूलाई समस्या भएको भन्दै ज्यान मार्ने धम्की दिएका थिए।

उनीहरूले पत्रकारहरूले तस्करीको गतिविधिमा असर पु¥याएको आरोप लगाउँदै भविष्यमा पनि यस्ता समाचार प्रकाशन गरे ज्यान लिने चेतावनी दिएका थिए। पत्रकार संगठनहरूले यस घटनालाई प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारितामाथिको योजनाबद्ध आक्रमणका रूपमा व्याख्या गरेका छन्।

पत्रकार संगठनहरूको कडा विरोध

घटनापछि नेपाल पत्रकार महासंघ पर्सा शाखा र हिन्दू पत्रकार संघ नेपालले कडा विरोध जनाएका छन्। महासंघ पर्साका सचिव विजयकुमार महतो तथा हिन्दू पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारद्वारा जारी विज्ञप्तिमा घटनालाई सञ्चार क्षेत्र र लोकतान्त्रिक मूल्यमान्यतामाथिको गम्भीर प्रहार भनिएको छ।

उनीहरूले गृह मन्त्रालय, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग घटनाका मुख्य योजनाकारसहित संलग्न सबै व्यक्तिलाई तत्काल पक्राउ गरी निष्पक्ष छानबिन र कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

साथै, पत्रकारहरूको सुरक्षाप्रति गम्भीर बन्न सम्बन्धित निकायलाई आग्रह गर्दै दोषीहरूलाई शीघ्र कानुनी दायरामा नल्याइए प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाका लागि संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्।

अनुसन्धान प्रक्रिया अगाडि बढ्यो

घटनाबारे आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामा सीसीटीभी फुटेज उपलब्ध गराइएको र कानुनी प्रक्रिया अगाडि बढाइएको अग्निपथ मिडिया प्रालिका पर्सा जिल्ला संवाददाता सञ्जय कुशवाहाले जानकारी दिए।

यता जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले घटनालाई गम्भीरतापूर्वक लिइएको बताउँदै अनुसन्धान तीव्र गतिमा अघि बढाइएको र संलग्न व्यक्तिहरूलाई चाँडै नियन्त्रणमा लिइने विश्वास व्यक्त गरे।

Scroll to Top