पर्सा प्रहरीलाई कार्यसम्पादन मूल्यांकनमा प्रदेशमै पहिलो स्थान — एसपी गौतम मिश्रको नेतृत्वमा ऐतिहासिक सफलता

Spread the love

वीरगञ्ज , श्रावण १२

 मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरद्वारा आयोजित कार्यसम्पादन सम्झौता मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय पर्सा प्रदेशभरमै सर्वोत्कृष्ट घोषित भएको छ। प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको सक्रिय नेतृत्वमा प्राप्त यस उपलब्धिले जिल्लाको सुरक्षात्मक सुधार, अपराध नियन्त्रण तथा सुशासन प्रवर्द्धनमा पर्सा प्रहरीको प्रतिबद्धता झल्किएको छ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमा प्रसाद चतुर्वेदीका अनुसार, पर्सा प्रहरीले ४० वटा सूचकमा आधारित कार्यसम्पादन मूल्यांकनमा ९०.१९ प्रतिशत अंक प्राप्त गर्दै पहिलो स्थान प्राप्त गरेको हो।

प्राप्त विवरणअनुसार, मूल्यांकन अवधिमा पर्सा प्रहरीले करिब ६० करोड रुपैयाँ बराबरका चोरी, तस्करी तथा भन्सार छलीका सामान नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ।

यस्तै, विभिन्न अदालतबाट फैसला भई फरार रहेका १,५११ जना प्रतिवादीलाई पक्राउ गर्दै ७३ वर्ष २ महिना कैद तथा ३ करोड ५५ लाख १२ हजार ९५६ रुपैयाँ जरिवाना असुल गरिएको उल्लेख छ।

लागुऔषध नियन्त्रण अभियानमा पनि पर्सा प्रहरीले ऐतिहासिक सफलता हात पारेको छ। ३१९ केजी चरेससहित एक ट्रक नियन्त्रणमा लिएको मात्र होइन, कुल ६२४ केजी चरेस, १,५६१ केजी गाँजा, १.५९ केजी अफिम सहित १५३ जना कारोबारमा संलग्न अभियुक्त पक्राउ गरिएको छ।

मानव बेचबिखनसम्बन्धी १२ मुद्दा दर्ता गर्दै १३ जना अभियुक्तमाथि कारबाही गरिएको छ भने, कर्तव्य ज्यान लगायत गम्भीर अपराधमा संलग्न अपराधीको समेत सफल अनुसन्धान गरिएको छ।

एसपी मिश्रको नेतृत्वमा कार्यालयको भौतिक संरचना सुधार, सौन्दर्यीकरण, तथा प्रहरी मनोबल अभिवृद्धिका कार्यक्रमसमेत सञ्चालन गरिएका छन्। धार्मिक सहिष्णुताका दृष्टिले हनुमान जयन्ती, गहवामाई रथ यात्रा, मोहरम लगायतका पर्वमा प्रभावकारी प्रहरी परिचालन गरिएको छ।

२०७७ सालदेखि सुरु गरिएको कार्यसम्पादन मूल्यांकनमा पर्सा जिल्ला पहिलो पटक मधेश प्रदेशमै विजेता बन्न सफल भएको हो।
यस उपलब्धिले पर्सा प्रहरीको समर्पण, नेतृत्व क्षमता र जनमैत्री कार्यशैलीलाई थप सुदृढ बनाएको प्रष्ट देखिन्छ।

Scroll to Top