भौराटरमा तीनदिने निःशुल्क मोतियाबिन्दु अपरेसन शिविर सुरु

Spread the love

पर्सा , मंसिर २७

पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–५ स्थित भौराटरमा तीनदिने निःशुल्क मोतियाबिन्दु आँखा अपरेसन शिविर आजदेखि सुरु भएको छ। श्री नेपाल राष्ट्रिय सीताराम महतो माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भएको उक्त शिविर २७ गतेदेखि २९ गतेसम्म चल्नेछ।

जनमुखी युवा क्लब भौराटर, पर्साको आयोजनामा तथा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र उत्कर्ष नेपालको समन्वयमा शिविर सञ्चालन गरिएको हो। जनमुखी युवा क्लबका दुलरचन्द प्रसाद साहका अनुसार गरिब तथा विपन्न वर्गका नागरिकलाई लक्षित गरी निःशुल्क आँखाको उपचार तथा मोतियाबिन्दु अपरेसन सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो।

मानव जीवनका लागि आँखाको महत्वलाई मध्यनजर गर्दै करिब ६ सयभन्दा बढी सेवाग्राहीलाई निःशुल्क उपचार गर्ने लक्ष्य राखिएको साहले जानकारी दिए। तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा पर्सा जिल्लामै सेवा दिन पाएकोमा उनले खुशी व्यक्त गरे।

त्यस्तै, क्लबका अध्यक्ष शिवशंकर साहले शिविरमा आँखा परीक्षणदेखि अपरेसन, खानपान तथा बसोबाससम्मका सबै सेवा पूर्ण रूपमा निःशुल्क व्यवस्था गरिएको बताए। आँखाको जाँच गराउन आउने बिरामीसँग कुनै पनि शुल्क नलिइएको उनको भनाइ छ।

शिविरमा डाक्टर हेमचन्द्र झा, डाक्टर एलिना, डाक्टर सुशान्त अडिगा, डाक्टर दिप्पि लगायत विशेषज्ञ चिकित्सकहरूको टोली सहभागी रहेको छ। अपरेसन शिविर कमाण्डरको रूपमा रुविना श्रेष्ठ तथा छनौट शिविर कमाण्डर आशिष भट्ट रहेका छन्।

शिविरमा पर्साका विभिन्न पालिकासहित छिमेकी देश भारतबाट समेत सेवाग्राहीहरू उपचारका लागि आएका छन्।

Scroll to Top