वीरगञ्ज, चैत्र २५
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१३ पोतामा जारी पाँचौं संस्करणको पुरुष खुला नकआउट भलिबल प्रतियोगिताको दोस्रो दिन आज तीन खेल सम्पन्न भएका छन्।

सगरमाथा युवा समाज क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत वडा कार्यालयको खेल मैदानमा भएको पहिलो खेलमा थस्कौल बारा र महोत्तरीबीच प्रतिस्पर्धा भएको थियो, जसमा महोत्तरी विजयी बन्न सफल भयो।
त्यस्तै, दोस्रो खेल आयोजक सगरमाथा क्लब र मिलन चोक बारा बीच भएकोमा आयोजक टोलीले जित हात पार्यो।

तेस्रो खेल मकवानपुर र सर्लाहीबीच तय भए पनि मकवानपुर टोली अनुपस्थित रहेपछि सर्लाहीलाई स्वतः विजयी घोषणा गरिएको थियो।
प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।
स्थानीय स्तरमा खेलकुदको विकास गर्दै युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ।



