प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता : छैटौँ दिन पाँच खेल सम्पन्न

Spread the love

वीरगञ्ज ,पौष ७

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जद्वारा आयोजित दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार छैटौँ दिन पाँच वटा प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्।

छैटौँ दिनको पहिलो खेल छात्रातर्फ सनलाइट सेकेन्डरी स्कुल र माउन्ट एडमन्ड सेकेन्डरी स्कुलबीच भएको थियो। उक्त खेलमा माउन्ट एडमन्ड सेकेन्डरी स्कुलले १० विकेटको शानदार जित दर्ता गर्‍यो। खेलकी प्लेयर अफ द म्याच स्मृति बुलन घोषित भइन्।

जुनियर छात्रतर्फको दोस्रो खेल ब्लु हेभन स्कुल र नेशनल ओपन मोडल स्कुलबीच सम्पन्न भयो। यस खेलमा ब्लु हेभन स्कुलले ४७ रनको फराकिलो जित हात पार्‍यो। खेलका प्लेयर अफ द म्याच सिद्धान्त पटेल बने।

तेस्रो खेल छात्रातर्फ मिनिल्यान्ड सेकेन्डरी स्कुल र मनकामना सेकेन्डरी स्कुलबीच कडा प्रतिस्पर्धाका साथ सम्पन्न भयो। खेलमा मिनिल्यान्ड सेकेन्डरी स्कुलले मनकामना सेकेन्डरी स्कुललाई १९ रनले पराजित गर्‍यो। यस खेलकी उत्कृष्ट खेलाडी प्रिमा थारु घोषित भइन्।

चौथो खेल जुनियर छात्रतर्फ गुरुकुल एकेडेमी र सूर्योदय सेकेन्डरी स्कुलबीच भएको थियो। सूर्योदय सेकेन्डरी स्कुलले ७ विकेटको सहज जित हात पार्‍यो। खेलका प्लेयर अफ द म्याच सोहाइल देवान बने।

छैटौँ दिनको अन्तिम खेल छात्रातर्फ आचार्य एकेडेमी र लिटल एन्जेल्स सेकेन्डरी स्कुलबीच सम्पन्न भयो। उक्त खेलमा लिटल एन्जेल्स सेकेन्डरी स्कुलले ३३ रनको जित हात पार्‍यो। खेलका प्लेयर अफ द म्याच आदित्य कुमार साह घोषित भए।

आयोजकका अनुसार वीरगञ्जमा सञ्चालन भइरहेको यस प्रतियोगिताले विद्यालयस्तरका छात्रा तथा जुनियर छात्र खेलाडीहरूको प्रतिभा प्रस्फुटन, खेलकुद भावना विकास, अनुशासन तथा टिमवर्क अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ। प्रतियोगिता आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन हुने प्याब्सन वीरगञ्जले जनाएको छ।

Scroll to Top