वीरगञ्ज , चैत्र २९
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) पर्साको आयोजनामा लिगेसी अवार्ड २०८२ होटल भिस्वामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका तीन जना व्यक्तित्वलाई सम्मान गरिएको हो।
लिगेसी अवार्डबाट मनी कुमार लामा सम्मानित भएका छन्। उनी वीरगञ्जस्थित लिटल एन्जल्स विद्यालयका संस्थापक हुन्। त्यस्तै, प्याब्सनका केन्द्रीय सदस्य लालबाबु प्रसाद कुर्मी पनि सोही अवार्डबाट सम्मानित भए। यसैगरी, प्याब्सन पर्साका श्याम कुमार केसीलाई पनि लिगेसी अवार्ड प्रदान गरिएको छ।

निजी विद्यालय क्षेत्रको विकास र विस्तारमा अतुलनीय योगदान पुर्याएको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।


कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिका रूपमा पशुपति विक्रम साह र उषा देवी साहको उपस्थिति थियो। विशिष्ट अतिथिमा आनन्द लामिछाने तथा अतिथिहरूमा दीपक शाक्य, उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, प्याब्सन महानगरका अध्यक्ष राहुल श्रीवास्तव, मधेश प्रदेशका उपाध्यक्ष पुराण प्रधान, प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साह लगायत वीरगञ्जका विभिन्न निजी विद्यालयका सञ्चालकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले गरेका थिए।



