बारा, साउन १५
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले ठूलो मात्रामा लागू औषध ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्ने युवक बाराको विश्रामपुर गाउँपालिका–१, घोडासहन निवासी २२ वर्षीय अजमुल हक अंसारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीका अनुसार साउन १४ गते दिउँसो करिब २:५० बजे इलाका प्रहरी कार्यालय प्रसौनी बाराका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा जिल्ला प्रहरी कार्यालय बारा र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट संयुक्त टोली परिचालन गरिएको थियो।
उक्त टोलीले कलैयाबाट प्रसौनीतर्फ पैदल आउँदै गरेका अंसारीलाई फेटा गाउँपालिका–१, भलुहीस्थित स्थानमा शंकास्पद रूपमा रोकी शरीर खानतलासी गर्दा, २ वटा प्लास्टिकका पुरियामा १४७.१८ ग्राम लागू औषध ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला पारेको हो। जसमध्ये ६०० मिलिग्राम सुख्खा प्रकार र १४६.५८ ग्राम लेदो प्रकारको रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका अंसारीलाई नियन्त्रणमा लिएर लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागू औषध कारोबार विरुद्ध प्रहरीले चालिएको यो सक्रियता जिल्लामा मादक पदार्थजन्य अपराध नियन्त्रणमा सघाउ पुग्ने विश्वास लिइएको छ।


