वीरगञ्ज , चैत्र १५
बीरगञ्ज सेकेन्डरी स्कुलका कक्षा १० का विद्यार्थीहरूको एक भव्य समारोहका बीच विदाई कार्यक्रम सम्पन्न भएको छ। विद्यालयले आयोजना गरेको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई औपचारिक रूपमा बिदाइ गरिएको हो।

कार्यक्रम विद्यालयका प्रशासनिक प्रमुख सुरेश प्रसाद चौधरीको सभापतित्व तथा बीरगञ्ज कलेजका क्याम्पस चिफ डा. विनोद गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. गुप्ताले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै उच्च शिक्षामा सफल हुन शुभकामना व्यक्त गर्नुभयो। उहाँले विद्यालय स्तरको अध्ययन मात्र पर्याप्त नहुने उल्लेख गर्दै क्याम्पस जीवनमा व्यवहारिक ज्ञान र अतिरिक्त
क्रियाकलापहरूमा सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी, बीरगञ्ज कलेजका अध्यक्ष डा. दिपेन्द्र चौधरीले पनि विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्रामा केन्द्रित रहन आग्रह गर्नुभयो। उहाँले अब विद्यार्थीहरूको भविष्य निर्धारण गर्ने महत्वपूर्ण चरण सुरु भएको उल्लेख गर्दै विद्यालयबाट प्राप्त सकारात्मक अनुभवहरूलाई आत्मसात् गर्दै लक्ष्यप्राप्तिमा अगाडि बढ्न सुझाव दिनुभयो।
विदाई समारोहमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरी माहोललाई उल्लासमय बनाएका थिए। कार्यक्रममा विद्यालयका शिक्षक-शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



