वीरगञ्ज ,जेठ १९
अर्जुन चौधरी
वीरगञ्जको ब्राइट +2 कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरूको बिदाइ कार्यक्रम आइतवार टाउन हलमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता कलेजका प्रमुख मुकेश गुप्ताले गर्नुभएको थियो भने प्रमुख अतिथि साहित्यकार तथा व्यवसायी गणेश लाठ रहनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिक्षक जय साह, सानो पाइला संस्थाका विवेक कर्ण, सञ्चारकर्मी सूर्य नारायण विक, स्टडी ल्याण्डका अमन पटेल, पवन कुमार गुप्ता लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बिदाइ कार्यक्रममा प्रमुख अतिथि गणेश लाठले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै परिश्रम, ईमानदारी र आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिनुभयो। साथै, अन्य वक्ताहरूले पनि विद्यार्थी जीवनको महत्त्व, जिम्मेवारी र अवसरहरूबारे मार्गदर्शन दिएका थिए।
कार्यक्रममा विद्यार्थीहरूले गीत, कविता, नृत्य लगायत विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। साथै, शिक्षक-शिक्षिकाहरूको तर्फबाट कक्षा १२ का विद्यार्थीहरूलाई सफलताको कामना गर्दै विदाई गरिएको थियो।
कार्यक्रमको समापनमा कलेज प्रमुख मुकेश गुप्ताले सबै उपस्थित अतिथि, अभिभावक, शिक्षक, र विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै सफल कार्यक्रमको शुभेच्छा व्यक्त गर्नुभएको थियो।


