वीरगञ्ज, जेठ २७
वीरगञ्जमा आगामी जेठ ३० गते आयोजना हुने ‘भविष्य मेला २०२५’ मा सहभागी माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीका लागि विशेष अवसर प्रदान गरिएको छ। मेलामा सहभागी विद्यार्थीहरूले एबीसी सक्युरीटीज प्रालिको सहकार्यमा निःशुल्क डिम्याट खाता खोल्न पाउनेछन्।
यस सुविधा प्रदान गर्न एबीसी सक्युरीटीज वीरगञ्ज शाखा प्रमुख दीपल खन्ना र भविष्य मेला निर्देशक नवीन कार्कीबीच आज एक औपचारिक सम्झौता सम्पन्न भएको छ। शाखा प्रमुख खन्नाले उक्त पहलले विद्यार्थीहरूलाई वित्तीय साक्षरतातर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे।
जेठ ३० गते शुक्रवार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने मेला पर्सा, बारा, रौतहट तथा आसपासका क्षेत्रका तीन हजारभन्दा बढी विद्यार्थी र अभिभावकलाई लक्षित गरिएको छ। एक दिने यो शैक्षिक तथा करियर मेला विद्यार्थीलाई विज्ञान, व्यवस्थापन, कानुन, पत्रकारिता, इन्जिनियरिङ, चिकित्सा, प्राविधिक शिक्षालगायत विभिन्न क्षेत्रका अवसरबारे जानकारी दिने उद्देश्यले आयोजना गरिँदैछ।
मेला निर्देशक नवीन कार्कीले एबीसी सक्युरीटीजसँगको सहकार्यले शैक्षिक र वित्तीय जागरूकता एकैसाथ प्रवर्द्धन गर्ने बताए। “हामी विद्यार्थीहरूलाई शैक्षिक अवसरसँगै वित्तीय साक्षरताको महत्त्व बुझाउन प्रतिबद्ध छौं,” उनले भने।
मेलामा निःशुल्क डिम्याट खाताका साथै निःशुल्क बैंक खाता, आँखा परीक्षण शिविर, टेलिकमको सिम कार्ड, मेरिट र आवश्यकतामा आधारित छात्रवृत्ति, शैक्षिक किताब, स्टेशनरी किट, र टेक ग्याजेटहरू पनि उपलब्ध हुनेछन्।
स्थानीय अभिभावक सुनिता कुमारीले भने, “हाम्रा छोराछोरीले आफ्नै सहरमा गुणस्तरीय शिक्षा र करियर अवसरबारे जानकारी पाउनेछन्, जुन हाम्रो समुदायका लागि गर्वको कुरा हो।”
युवा नेता राकेश यादवले मेला वीरगञ्जलाई शैक्षिक हबको रूपमा स्थापित गर्न र स्थानीय युवालाई सशक्त बनाउन ठूलो कदम भएको बताए। “मेलाले हाम्रा विद्यार्थीलाई आफ्नै सहरमा अवसरको संसार देखाउनेछ,” उनले भने।
मेला आयोजकले वीरगञ्ज र आसपासका विद्यार्थी, अभिभावक, शैक्षिक संस्था तथा स्थानीय व्यवसायलाई मेलामा सहभागी हुन निमन्त्रणा गरेका छन्। आयोजकहरूको विश्वास छ— यो मेला केवल एउटा कार्यक्रम होइन, युवाहरूको भविष्य निर्माण गर्ने प्रेरक अभियान हो।


