वीरगञ्जमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत मैत्रीपूर्ण फुटबल खेल सम्पन्न

Spread the love

वीरगञ्ज, भदौ ६ 


सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक प्रहरी पदाधिकारी, कर्मचारी तथा उद्योगी–व्यवसायीबीचको मैत्रीपूर्ण फुटबल खेल वीरगञ्जमा भव्यताका साथ सम्पन्न भएको छ।

ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१०, पर्साको संयुक्त आयोजनामा कुशेऔंसी (बुबाको मुख हेर्ने दिन) को अवसरमा सामाजिक एकता, आपसी समझदारी र सहकार्यलाई अझ मजबुत बनाउन खेल आयोजना गरिएको हो।

वीरगञ्ज महानगरपालिका–१० स्थित आदर्श रंगशालामा सम्पन्न खेलमा विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) गौतम मिश्र, उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतम, नेपाल इन्नोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईँ, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईँ, भारतीय दूतावास वीरगञ्जका राजदूत डिएस मिना, रुंगटा वेल्फेयर सोसाइटीका अध्यक्ष सुरेश रुंगटा, सामाजिक अभियन्ता दिलीप कार्की, सञ्चारकर्मी धिरज दारुका र हिमाल लम्साललगायत अतिथिहरू विशेष उपस्थित भएका थिए।

सुरक्षाकर्मी र समुदायबीचको सम्बन्ध अझ प्रगाढ बनाउन आयोजना गरिएको उक्त खेललाई सहभागीहरूले सकारात्मक पहलका रूपमा लिएका छन्। खेलमा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले जित हासिल गरेको आयोजकले जनाएको छ।

कार्यक्रम ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको थियो।

Scroll to Top