भूमाफियाको चल्यो भने घण्टाघर र शंकराचार्यद्वार पनि पास हुन्छ” — मन्त्री प्रदीप यादवको चेतावनी

Spread the love

वीरगञ्ज, ८ साउन


संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जमा भूमाफियाहरू अत्यन्त सक्रिय बनेको भन्दै तीव्र चिन्ता व्यक्त गरेका छन्। शुक्रबार पर्सा जिल्लाको श्रीसिया नदी प्रदूषण नियन्त्रणसम्बन्धी आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले भूमाफियाको बढ्दो प्रभावमाथि कडा टिप्पणी गर्दै भने — “यदि यिनको चल्यो भने वीरगञ्जको ऐतिहासिक चिनारी घण्टाघर र शंकराचार्यद्वार पनि पास गर्न बेर गर्दैनन्।”

उनले भूमाफियाहरूले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गर्न सुरु गरेको भन्दै यस विरुद्ध स्थानीय निकाय र प्रशासनले तत्काल कठोर कदम चाल्नुपर्नेमा जोड दिए।

कार्यक्रममा श्रीसिया नदीको प्रदूषण नियन्त्रणका लागि एशियाली विकास बैंक (ADB) को ऋण सहयोगमा खानेपानी मन्त्रालयको सह-लगानी र वीरगञ्ज महानगरपालिकाको १५ प्रतिशत हिस्सा रहने गरी योजना कार्यान्वयन गरिने घोषणा समेत गरिएको छ।

वीरगञ्ज महानगरपालिकाको बोर्ड हलमा सम्पन्न कार्यक्रमको अध्यक्षता नगरप्रमुख राजेशमान सिंहले गरेका थिए भने प्रमुख अतिथि मन्त्री यादव थिए।

खानेपानी विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, आयोजना निर्देशक सुरतकुमार बम, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, जीतपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, महानगरका प्राविधिक टोली लगायत सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति कार्यक्रममा थियो।

नगरप्रमुख सिंहले श्रीसिया नदीलाई प्रदूषणमुक्त बनाउन महानगरले आवश्यक प्रस्ताव जतिसक्दो चाँडो तयार गरेर केन्द्र सरकारमा पठाउने प्रतिबद्धता जनाए।

मन्त्री यादवले जल, जमिन र वातावरणको संरक्षणमा लापरबाही जारी रहेमा भावी पुस्ताले वीरगञ्जलाई चिन्ने आधार नै हराउने चेतावनी पनि दिए।

Scroll to Top