झाबराहामा एमाले उम्मेदवार रिमा कुमारी यादवको भव्य स्वागत, चुनावी माहोल उत्साहपूर्ण

Spread the love

बीरगञ्ज , माघ २२

नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादवलाई पर्सागढी नगरपालिका वडा नम्बर–३ झाबराहामा स्थानीयवासीले भव्य स्वागत गरेका छन्। बिहीबार सम्पन्न मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमका क्रममा झाबराहा पुगेकी उम्मेदवार यादवको आगमनलाई स्थानीयले उत्सवकै रूपमा मनाएका थिए।

स्थानीय महिला, युवा तथा सर्वसाधारणले फूलमाला लगाएर स्वागत गर्दै उम्मेदवार यादवलाई जितको शुभकामना दिएका थिए। स्वागत कार्यक्रममा नाचगान, नाराबाजी र खुशियाली देखिनुका साथै झाबराहा मात्र नभई आसपासका गाउँबाट आएका मतदाता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यसपटक पर्सा निर्वाचन क्षेत्र नम्बर–२ ले योग्य, शिक्षित र महिला उम्मेदवार पाएको भन्दै स्थानीय मतदाता उत्साहित देखिएका छन्। उनीहरूले लामो समयपछि जनताको भावना बुझ्ने र विकासप्रति प्रतिबद्ध उम्मेदवार पाएको प्रतिक्रिया दिएका थिए। हजारौं नेता तथा कार्यकर्ताको उपस्थितिले चुनावी माहोल थप उत्साहजनक बनेको थियो।

भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार रिमा कुमारी यादवले पर्सा–२ को समग्र विकासका लागि आफू राजनीतिमा होमिएको बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र भौतिक पूर्वाधार क्षेत्रमा उल्लेखनीय सुधार आवश्यक रहेको उल्लेख गर्दै दीर्घकालीन विकास योजना तयार गरिएको जानकारी दिनुभयो।

यादवले विगतमा भएका अधुरा विकासका काम पूरा गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीय समस्या समाधानलाई प्राथमिकतामा राख्दै जनताको सुख–दुःखमा सधैं साथ दिने नेताको रूपमा काम गर्ने विश्वाससमेत दिलाउनुभयो।

अन्त्यमा उहाँले स्थिर सरकार र समृद्ध क्षेत्र निर्माणका लागि सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन सम्पूर्ण मतदातासँग आग्रह गर्नुभयो।

Scroll to Top