मलंगवामा हिन्दु पत्रकार संघ नेपालको जिल्ला समिति गठन, मनोज यादव नेतृत्वमा १४ सदस्यीय कार्यसमिति

Spread the love

वीरगञ्ज , पौष २१

हिन्दु पत्रकारहरूको साझा संगठनका रूपमा स्थापित हिन्दु पत्रकार संघ नेपालको पहिलो जिल्ला शाखा सर्लाहीमा गठन गरिएको छ। सोमबार सदरमुकाम मलंगवामा आयोजित घोषणा सभामार्फत मनोज यादवको अध्यक्षतामा १४ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो।

हिन्दु धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै पत्रकारितामार्फत हिन्दु समुदायका सवाल र अधिकारलाई सशक्त रूपमा उठाउने उद्देश्यका साथ जिल्ला समिति गठन गरिएको जनाइएको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रेमनाथ पौडेल र जितेन्द्र कुशवाहा, सचिवमा सन्तोष कर्ण, सह–सचिवमा संजय गुप्ता तथा कोषाध्यक्षमा सन्तोष कुमार यादव चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा मनिषा कुशवाहा, चन्दन मिश्र, सुनिल राय, अमृता मुखिया, जितेश कुमार यादव, राम झा, सुभाष मण्डल र विवेक यादव रहेका छन्।

मलंगवा नगरपालिका–८ स्थित कुसुम पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष यादवले सनातन धर्म, संस्कृति र मूल्य–मान्यताको संरक्षण संघको मुख्य लक्ष्य रहेको उल्लेख गर्दै पत्रकारिताको माध्यमबाट हिन्दु समुदायका विषयहरू जिम्मेवार र तथ्यगत रूपमा उठाइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहले हिन्दु पत्रकार संघ नेपालको गठनलाई स्वागतयोग्य पहल भन्दै यसले पत्रकारिताको बहुआयामिकता थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले सनातन संस्कृतिको संरक्षणमा पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने बताए।

कार्यक्रममा हिन्दु सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णा यादवले संघको स्थापना ऐतिहासिक कदम भएको उल्लेख गर्दै यसले पत्रकारहरूबीच एकता र धर्म–संस्कृतिको संरक्षणमा टेवा पुर्‍याउने धारणा राखे।

सभाको अध्यक्षता गर्दै संघका केन्द्रीय अध्यक्ष राजन रौनियारले पत्रकारिताको मर्यादा कायम राख्दै हिन्दु धर्म र संस्कृतिको संरक्षणमा संघ सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा संघका केन्द्रीय सचिव राजकुमार सर्राफ, केन्द्रीय सल्लाहकार एस.के. चौरसिया, केन्द्रीय सदस्य कन्हैया पटेल, संजय प्रसाद कुशवाहा, मिडिया काउन्सिल मधेश प्रदेशकी सदस्य बन्दना झा, राष्ट्रिय बजरंग दलका धिरेन्द्र मिश्र, मलंगवा नगर संरक्षण तथा सुधार समितिका अध्यक्ष चन्दन सिंह, एकल विद्यालय अभियान सर्लाहीका अध्यक्ष बद्री नारायण मिश्रलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Scroll to Top