वीरगंजमा सडक अतिक्रमणमुक्त, विस्तार कार्यले पाउने गति

Spread the love

अर्जुन चौधरी

वीरगंज, बैशाख २६ 

 वीरगंज महानगरपालिका वडा नं. २१ स्थित परवानिपुर चौकदेखि पश्चिम पटेलनगरसम्मको मुख्य सडक अतिक्रमणमुक्त गरिएको छ। वर्षौंदेखि रोकिएको सडक विस्तार कार्यलाई अघि बढाउने उद्देश्यले नगर प्रमुख राजेश मान सिंहको निर्देशनमा यो कारवाही गरिएको हो।

सन् २०७५/०७६ मा पप्पु कन्स्ट्रक्सनलाई सो सडक निर्माणको ठेक्का दिइएको भए पनि लामो समयसम्म काम अघि नबढेपछि ठेक्का रद्द गरिएको थियो। त्यसपछिका वर्षहरूमा सोच्छन्द निर्माण सेवाले सडक खण्डको केही भागमा अवैध रूपमा संरचना निर्माण गरेको पाइएपछि महानगरपालिकाको भौतिक अतिक्रमण नियन्त्रण समितिले हस्तक्षेप गरेको हो।

कारवाही अन्तर्गत रामनारायण साह, प्रभु महतो, राजाराम यादव, राजेश महतोलगायत केही व्यक्तिहरुले सरकारी सडक क्षेत्रभित्र बनाएका टहरा र अन्य संरचनाहरू हटाइएका छन्। अतिक्रमण हटाउने कार्यमा हरि पोखरेलको नेतृत्वमा अमिनसहितको टोली परिचालित थियो।

कार्यक्रममा वडा नं. २१ का वडाध्यक्ष राधा कृष्ण साह रौनियार, सचिवालय सदस्य नवराज फुयाल र नगर प्रहरी प्रमुख हरि प्रसाद भुसालको उपस्थितिमा नक्साअनुसार सडकको दुबै तर्फको क्षेत्र छुट्याइएको छ।

स्थानीय बासिन्दाहरूले लामो समयदेखि आवतजावतमा परेको असुविधा अन्त्य हुने आशा व्यक्त गरेका छन्। साथै, उनीहरूले सडक निर्माण कार्य तीव्र रूपमा अघि बढाई यथाशीघ्र सम्पन्न गरिनुपर्ने मागसमेत राखेका छन्।

Scroll to Top