अर्जुन चौधरी
वीरगञ्ज,वैशाख २५
विश्वभर मनाइने विश्व रेडक्रस दिवसको अवसरमा साउथ जोन जुनियर युवा रेडक्रस सर्कलले मानवता र सेवाको अनुपम उदाहरण प्रस्तुत गर्दै विद्यालय क्षेत्रका अभिभावक, शिक्षक, विद्यार्थी तथा पैदल यात्रुहरूलाई निःशुल्क चिसो सर्वत वितरण कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा गर्मीले आक्रान्त जनसमुदायलाई शीतलता प्रदान गर्ने उद्देश्यले सयौँ गिलास चिसो सर्वत वितरण गरियो। सो अभियानमा विद्यालयका शिक्षक, विद्यार्थी र युवा रेडक्रस सदस्यहरूको उल्लेखनीय सहभागिता रह्यो।
कार्यक्रमको सफल नेतृत्व विद्यालयका वरिष्ठ शिक्षक तथा रेडक्रस सर्कलका सल्लाहकार श्री अर्जुन कुमार बण्ठाले गर्नुभएको थियो। उहाँको सक्रियता, मार्गदर्शन र प्रेरणाले सम्पूर्ण विद्यार्थीहरूलाई मानव सेवामा संलग्न हुन थप उत्साहित बनाएको सहभागीहरूले बताएका छन्। शिक्षक बण्ठाले भन्नुभयो, “रेडक्रस दिवसको भावनालाई आत्मसात् गर्दै हामीले समाजमा सानो तर महत्वपूर्ण सेवाको प्रयास गरेका छौँ। विद्यार्थीहरूमा सामाजिक सेवा र मानवता प्रतिको भावना विकास गर्नु नै हाम्रो उद्देश्य हो।”

यस अभियानले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र सेवाभाव सुदृढ गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको विद्यालय प्रशासनले जनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्षले समेत कार्यक्रमको प्रशंसा गर्दै भविष्यमा यस्ता मानवसेवा मूलक कार्यमा निरन्तरता दिन आग्रह गर्नुभयो।
कार्यक्रमको समापनमा सहभागी सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र रेडक्रस स्वयंसेवकहरूलाई धन्यवाद दिँदै पुनः विश्व रेडक्रस दिवसको शुभकामना व्यक्त गरियो।



