वीरगञ्जमा दसैँको रौनक बढाउन आदर्शनगर र लोहारपट्टि चोकमा परम्परागत पिङ निर्माण

Spread the love

वीरगञ्ज , असोज २८

विजयादशमीको अवसरमा नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिकाको आदर्शनगर मेनरोड र लोहारपट्टि चोकमा परम्परागत पिङ निर्माण गरिएको छ।

वीरगञ्ज महानगरपालिका, नेपाली सेनाको श्री श्रीजंग गण र ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वय तथा सहकार्यमा पिङ निर्माणको काम अघि बढाइएको हो। पिङ निर्माणले दसैँको रौनक बढाउनुका साथै मौलिक परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाली समाजमा चाडपर्वका अवसरमा पिङ खेल्ने परम्परा प्राचीन कालदेखि नै रहँदै आएको छ। विशेषगरी दसैँमा पिङ खेल्ने, आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने र आपसी खुसी साटासाट गर्ने चलनले सांस्कृतिक महत्त्व बोकेको छ। तर, आधुनिकताको प्रभावसँगै यस्ता मौलिक परम्परा विस्तारै हराउँदै जान थालेपछि तिनको संरक्षणका लागि पिङ निर्माण गर्न लागिएको हो।

वीरगञ्ज महानगरपालिकाका हरियाली संयोजक एवं ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले परम्परागत संस्कृति र चाडपर्वको महत्त्वलाई जीवन्त राख्न पिङ निर्माणको पहल गरिएको बताउनुभयो। उहाँका अनुसार महानगरपालिका, नेपाली सेना र सामुदायिक प्रहरीबीचको सहकार्यले सांस्कृतिक संरक्षणसँगै नगरवासीबीच सद्भाव, भाइचारा र एकताको भावना अभिवृद्धि गर्न सहयोग पुग्नेछ।

वीरगञ्जको प्रमुख व्यापारिक क्षेत्रमध्येका आदर्शनगर मेनरोड र लोहारपट्टि चोकमा परम्परागत शैलीमा पिङ निर्माण हुनुले स्थानीय बासिन्दासँगै वीरगञ्ज आउने आन्तरिक पर्यटकलाई समेत आकर्षित गर्ने विश्वास गरिएको छ।

अध्यक्ष खेतानले चाडपर्व रमाइलो गर्ने अवसर मात्र नभई समाजको कला, संस्कृति, परम्परा र सामाजिक सम्बन्धलाई बलियो बनाउने माध्यमसमेत भएको उल्लेख गर्दै मौलिक संस्कृतिको संरक्षणमा सबैको सहभागिता आवश्यक रहेको बताउनुभयो। यस्ता गतिविधिले नयाँ पुस्तालाई नेपाली परम्परासँग जोड्नुका साथै सामुदायिक सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न मद्दत पुग्ने उहाँको भनाइ छ।

स्थानीय प्रशासन, सुरक्षा निकाय र समुदायबीचको सहकार्यमा अघि बढाइएको यस पहलले वीरगञ्जको सांस्कृतिक पहिचानलाई थप उजागर गर्नुका साथै चाडपर्वको वातावरणलाई उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।

यसैबीच, अध्यक्ष खेतानले विजयादशमीको पावन अवसरमा सम्पूर्ण नगरवासी तथा देश–विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले सबैलाई मौलिक संस्कृति र परम्पराको गौरव गर्दै आपसी सद्भाव, मेलमिलाप र खुसीका साथ दसैँ मनाउन आग्रहसमेत गर्नुभएको छ।

Scroll to Top