वीरगञ्ज , असोज २८
जेनजी पर्साले वीरगञ्ज महानगरपालिकाको आर्थिक पारदर्शिता र सार्वजनिक जवाफदेहिताको विषय उठाउँदै महानगरपालिकासँग आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ।
जेनजी पर्साका संयोजक विशेष साहको नेतृत्वमा गएको टोलीले महानगरपालिकाका सूचना अधिकारी कीर्तिराज सुवेदीलाई सामूहिक रूपमा निवेदन पेस गर्दै आवश्यक सूचना उपलब्ध गराउन माग गरेको हो। निवेदन पेस गर्ने टोलीमा जेनजी पर्साका सल्लाहकार तथा कानुनका विद्यार्थी भेष चौरसिया, लालबाबु यादव र सुकेश पटेल सहभागी थिए।
टोलीले महानगरपालिकाको हालसम्मको आर्थिक अवस्था, आय–व्यय विवरण, सञ्चित कोष तथा बैंक मौज्दात, आन्तरिक राजस्व, संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, विकास तथा पुँजीगत खर्च, भुक्तानी दिन बाँकी दायित्व र लेखापरीक्षण प्रतिवेदनसम्बन्धी प्रमाणित विवरण माग गरेको छ।
सार्वजनिक बजेट तथा नागरिकबाट संकलित करको रकम पारदर्शी र प्रभावकारी रूपमा उपयोग हुनुपर्नेमा जोड दिँदै जेनजी पर्साले महानगरपालिकाको वास्तविक आर्थिक अवस्था नागरिकसमक्ष स्पष्ट हुनुपर्ने जनाएको छ।
महानगरपालिकाको आय, खर्च तथा वित्तीय दायित्वसम्बन्धी विवरण सार्वजनिक हुँदा सार्वजनिक स्रोतको उपयोगबारे नागरिकले जानकारी पाउनुका साथै आर्थिक पारदर्शिता र जवाफदेहिता कायम गर्न सहयोग पुग्ने टोलीको अपेक्षा छ।
जेनजी पर्साले सुशासन, आर्थिक पारदर्शिता र सार्वजनिक जवाफदेहिताका लागि महानगरपालिकाको कामकारबाहीमाथि निगरानी तथा खबरदारीलाई निरन्तरता दिने जनाएको छ।



