बीरगंज , असोज २८
चाडपर्वलाई लक्षित गरी बाराको कलैया बजारमा गरिएको संयुक्त छड्के अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्री बिक्रीका लागि राखेको पाइएपछि दुई पसललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका कार्यालय प्रमुख सुनिल चौरसियाको नेतृत्वमा मंगलबार गरिएको अनुगमनका क्रममा विकास जेनरल स्टोर्सलाई ५ हजार रुपैयाँ र माँ अन्नपूर्ण स्वीट्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको हो।
अनुगमनका क्रममा विकास जेनरल स्टोर्समा म्याद गुज्रिएको पशुपति टी किङ चियापत्ती र कुरकुरे पास्ता फेला परेको थियो। फेला परेका म्याद गुज्रिएका खाद्य सामग्री जफत गरी नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ।
त्यस्तै, माँ अन्नपूर्ण स्वीट्समा मिठाई बनाउन प्रयोग गरिने खिराको बियाँ, गुलाबजल तथा केवरा वाटर म्याद गुज्रिएको अवस्थामा भेटिएको थियो। यसअघि पनि बजार अनुगमनका क्रममा उक्त पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको जनाइएको छ।
आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका प्रमुख चौरसियाका अनुसार उपभोक्ता संरक्षण ऐनको दफा ३८ को खण्ड (घ) र दफा ३९ को खण्ड (क) बमोजिम दुवै पसललाई जरिवाना गरिएको हो।
यसैगरी, जय महारानी किराना भण्डारमा १०० ग्रामको एक प्याकेट म्याद गुज्रिएको मसला फेला परेको अनुगमन टोलीले जनाएको छ।
अनुगमन टोलीले न्यु दास किराना पसल, सिद्धु सिद्धार्थ स्वीट्स, न्यु दास सप्लायर्स, राजेश किराना, कलैया बिरयानी हाउस, लक्ष्मी स्वीट्स र मा तारा स्वीट्सलगायत १० वटा पसलमा अनुगमन गरेको थियो।
अनुगमन टोलीले व्यवसायीलाई म्याद गुज्रिएका खाद्य सामग्री खरिदबिक्री नगर्न, त्यस्ता सामग्री बिक्रीयोग्य वस्तुबाट छुट्टै राख्न, सामान खरिद गर्दा लेबल र म्याद जाँच गर्न तथा पसलमा सरसफाइ कायम राख्न निर्देशन दिएको छ।
अनुगमनमा वाणिज्य कार्यालयका आशुतोष कुशवाहा र मधुरेश प्रसाद साह, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जका खाद्य निरीक्षक सुरेश कुमार सिंह, जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा अरुण साह, अस्थायी प्रहरी पोस्ट कलैयाका प्रमुख प्रहरी नायब निरीक्षक बिमलेश यादव तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी सहायक निरीक्षक उमाशंकर रामलगायत सहभागी थिए।
चाडपर्वका समयमा खाद्य सामग्रीको माग बढ्ने भएकाले उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राख्दै बजार अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने कार्यालय प्रमुख चौरसियाले बताएका छन्।



