वीरगन्ज, जेठ २०
विश्व साइकल दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगन्जले “स्वस्थ रहनुहोस्, साइकल चलाएर फिट रहनुहोस्” भन्ने मूल नाराका साथ एक भव्य साइकल र्यालीको आयोजना गरेको छ।
उक्त र्यालीमा नेपाल इनोभेटिभ सोसाइटी वीरगन्ज, वीरगन्ज साइकल क्लब, बारा राइडर्स संघ जीतपुरसिमरा तथा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगर, वीरगन्ज लगायतका विभिन्न संघ–संस्थाहरूको सक्रिय सहभागिता रह्यो।
कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटी वीरगन्जका अध्यक्ष कमल चौगाई, सदस्य डा. बिपि यादव, ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान सहित अन्य संस्थाका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमको अध्यक्षता भारतीय महावाणिज्य दूतावास वीरगन्जका प्रमुख डि.एस. मिनाले गरेका थिए।
साइकल र्यालीमा जम्मा ७५ जना सहभागी रहेका थिए। र्याली भारतीय महावाणिज्य दूतावासको गेटबाट सुरु भई घन्टाघर, वीरगन्ज भन्सार अगाडि, शंकराचार्य गेटसम्म पुगेको र पुनः दूतावासको गेटमै आएर समापन गरिएको थियो। र्यालीको दुरी ८ किलोमिटर रहेको थियो।
पर्यावरणीय सन्तुलन तथा शारीरिक स्वास्थ्यको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले समुदायमा सकारात्मक सन्देश दिएको आयोजक संस्थाले जानकारी दिएको छ।


