वीरगन्ज, जेठ १७
वीरगन्ज मल्टिपल कलेजले एम.बि.ए. (MBA) प्रथम सेमेस्टरमा भर्ना भएका नयाँ विद्यार्थीहरुको लागि एक विशेष ओरिएन्टेसन कार्यक्रम आयोजना गरेको छ। सिन्धुली जिल्लाको मञ्जरी रिसोर्टमा सम्पन्न सो कार्यक्रम सफल र प्रभावकारी रुपमा सम्पन्न भएको कलेज प्रशासनले जनाएको छ।
कार्यक्रम कलेज सञ्चालक समिति अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रुपमा राजर्षि जनक विश्वविद्यालयका व्यवस्थापन संकाय डीन डा. बिनोद साह उपस्थित थिए।

ओरिएन्टेसन कार्यक्रममा विद्यार्थीहरुलाई कलेजको शैक्षिक वातावरण, नियम तथा विनियम, पाठ्यक्रमको संरचना, र शैक्षिक यात्राका विभिन्न चरणबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। कलेजले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई नयाँ परिवेशमा घुलमिल हुन र उनीहरुको अध्ययनलाई अझ प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेको छ।
प्रमुख अतिथि डा. साहले वीरगन्ज मल्टिपल कलेज र विद्यार्थीहरुलाई विश्वविद्यालयको पाठ्यक्रम रोजेकोमा धन्यवाद ज्ञापन गर्दै विश्वविद्यालय र कलेज एउटै परिवारको रुपमा रहेको धारणा व्यक्त गरे। उनले समयानुकूल पाठ्यक्रममा परिमार्जन गरिँदै जाने जानकारी समेत दिए।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा विश्वविद्यालय क्याम्पस प्रमुख डा. सरोज ठाकुर, कलेजका एकेडेमिक डाइरेक्टर दर्शन केसी, पत्रकार नीरज पिटाकोठे, सहायक क्याम्पस प्रमुख रूदल ठाकुर लगायतले मन्तव्य व्यक्त गरेका थिए।
साथै, कार्यक्रममा अलोक एजुकेसनका सञ्चालक अजय साह, कलेजका शिक्षक मनीष गौतम, प्रचेत कर्ण, जितेन्द्र पटेल, मुक्त भुसाल लगायत विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो।

वीरगन्ज मल्टिपल कलेजले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई नेतृत्व, सम्प्रेषण, र सहकार्य क्षमतामा समेत अभिवृद्धि हुने अपेक्षा राखेको छ।



