सडकमा युवा सेलिब्रेसन एमालेको तमासा : आजपा नेतृ रञ्जु साहको आरोप

Spread the love

काठमाडौं, वैशाख ११

आम जनता पार्टी (आजपा)की नेतृ रञ्जु दर्षना साहले नेकपा (एमाले)को सडक प्रदर्शनलाई सत्ता र सडक दुवैबाट गरिएको तमासा भन्दै कडा आलोचना गरेकी छन्।

आज कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँगको भेटघाटमा बोल्दै नेतृ साहले वर्तमान सरकार जनताको समस्या, आवश्यकता र मागप्रति बेखबर रहेको आरोप लगाउँदै भनिन्, “असफल भइसकेको सरकारले जनताको पीडाबारे कुनै चासो लिएको छैन। उल्टै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सत्तामा बसेर पनि सडकमा तमासा गरिरहेको छ।”

उनले एमालेले आज भृकुटीमण्डपमा आयोजना गरेको ‘युवा सेलिब्रेसन’ कार्यक्रमप्रति प्रश्न उठाउँदै भनिन्, “यो शक्ति प्रदर्शन कसका बिरुद्धमा हो? सत्तामा बसेर सडकमा यस्ता तमासा गर्नु लोकतन्त्रको अपमान हो। कांग्रेससँग सत्तासहकार्य गर्न नसकेको हो भने सत्ता छाडेर सडकमै आउनु राम्रो।”

नेतृ साहले देश विदेशमा रोजगारको सिलसिलामा गएका युवाको शव महिनौँदेखि नफर्किएको अवस्थालाई उल्लेख गर्दै सरकार जनताका वास्तविक समस्या प्रति संवेदनशील नभएको बताइन्। “सरकारले युवा सेलिब्रेसनको नाममा नाटक गरिरहेको छ। युवा विना युवा उत्सवको के अर्थ?” भन्दै उनले कार्यक्रमप्रति व्यंग्यात्मक टिप्पणी गरिन्।

उनको भनाइमा, एमालेको यस्ता प्रदर्शनहरूले न लोकतान्त्रिक मूल्य जोगिन्छ, न जनताको समस्याको समाधान हुन्छ। सत्ता र सडकमै एउटै पार्टीको तमासा मुलुकको लागि दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो।

Scroll to Top