सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साको १८ औं स्थापना दिवस उत्साहपूर्वक सम्पन्न

Spread the love

वीरगञ्ज, पर्सा — सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले आइतबार आफ्नो १८ औं स्थापना दिवस भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। वीरगञ्ज महानगरपालिका–१४ स्थित पिपरास्थित गणको प्राङ्गणमा आयोजित विशेष समारोहमा विविध औपचारिक कार्यक्रम, सम्मान, सांस्कृतिक प्रस्तुति तथा अतिथिहरूको प्रेरणादायी सम्बोधन सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरीका बाहिनीपति, सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कालीदास धौवजी थिए। उनले सशस्त्र प्रहरी बलको गौरवपूर्ण इतिहास र राष्ट्रिय सुरक्षा, सीमा संरक्षण तथा आपतकालीन उद्धार कार्यमा पुर्‍याएको योगदानको चर्चा गर्दै गणको उल्लेखनीय भूमिकाको प्रशंसा गरे। उनले भने, “सशस्त्र प्रहरी बलले देशको सीमा सुरक्षा, आन्तरिक शान्ति र विपद् व्यवस्थापनमा खेलेको भूमिका अतुलनीय छ। नम्बर १३ गणले पर्सा क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न र समुदायसँग सहकार्य गर्न उल्लेखनीय काम गरेको छ।”

धौवजीले गणका सम्पूर्ण सदस्यहरूलाई स्थापना दिवसको शुभकामना दिँदै आगामी दिनमा अझ जिम्मेवारीपूर्वक र उत्कृष्टताका साथ सेवा गर्न प्रेरित गरे।

समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सशस्त्र प्रहरी बलको कर्तव्यनिष्ठता र समर्पणको प्रशंसा गर्दै जिल्लामा अवैध कारोबार, तस्करी नियन्त्रण र तनावपूर्ण अवस्थाको व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुगेको बताए। उनले भने, “सशस्त्र प्रहरीको सक्रियता र समन्वयले जिल्लामा शान्ति र सुरक्षा कायम गर्न सघाउ पुगेको छ। समुदायसँगको सहकार्यले सुरक्षा प्रणालीलाई थप मजबुत बनाएको छ।”

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासले पर्सा जिल्लाको सुरक्षा सुदृढ भएको उल्लेख गरे। “हामीले सधैं सशस्त्र प्रहरीसँग काँधमा काँध मिलाएर काम गरेका छौं,” उनले भने, “सीमा क्षेत्रमा गणको सतर्कता र समुदायसँगको समन्वयले हाम्रो प्रयासलाई अझ प्रभावकारी बनाएको छ।”

कार्यक्रमको आकर्षणका रूपमा सशस्त्र प्रहरीका जवानहरूले विशेष परेड, सांस्कृतिक नृत्य र गायन प्रस्तुत गरे। कार्यक्रममा उपस्थित अतिथिहरू र दर्शकहरूले प्रस्तुतीहरूबाट भरपूर मनोरञ्जन लिएका थिए।

गणले विगतमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरू, स्थानीय सरोकारवाला संस्था तथा व्यक्तित्वहरूलाई सम्मानपत्र र पुरस्कार प्रदान गरेर योगदानको कदर गरेको थियो।

गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले समारोहलाई सम्बोधन गर्दै गणको १८ वर्षे यात्राको संक्षिप्त विवरण प्रस्तुत गरे। उनले भने, “हामीले राष्ट्र र जनताको सेवा सधैं पहिलो प्राथमिकतामा राख्दै आएका छौं। यो गणले विभिन्न चुनौतीहरू पार गर्दै आजको अवस्था प्राप्त गरेको हो।” धिमालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सेवा, सुरक्षामा समर्पित भएर अगाडि बढ्ने प्रतिबद्धता जनाए।

कार्यक्रमले सशस्त्र प्रहरी बल र समुदायबीचको सम्बन्ध थप प्रगाढ बनाउने विश्वास गरिएको छ।

Scroll to Top