बैशाख ७, बिरगंज
पर्सा जिल्लाको बिरगंज महानगरपालिका–१४ स्थित श्री गौतम सेकेन्डरी स्कुलमा ट्राफिक सम्बन्धी सचेतनामूलक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। आइतबार सम्पन्न उक्त कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका ट्राफिक प्रहरी वरिष्ठ प्रहरी नायब निरीक्षक (सप्रनानि) गुननिधि खकुरेलको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियो।
प्याब्सन पर्सामा आबद्ध सम्पूर्ण सवारी चालक तथा सहचालकहरूलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा ट्राफिक नियम, सडक सुरक्षासम्बन्धी सावधानी, चालकले अपनाउनुपर्ने व्यवहार र ट्राफिक दुर्घटना न्यूनीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।
गौतम सेकेन्डरी स्कुलका संचालक सोनम लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ट्राफिक प्रहरी हवल्दार राजकुमार गोलेको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको सभाहलमा आयोजित प्रशिक्षण सत्रमा सहभागीहरूले ट्राफिक नियमहरू, संकेतहरू, यात्रु सुरक्षाको महत्व लगायतका विषयमा व्यावहारिक जानकारी प्राप्त गरे।
प्रशिक्षणमा बिकन स्कुल, गुरुकुल एकेडेमी, एस.आर. ग्यालेक्सी, साउथ जोन, ज्ञानदा एकेडेमी, मनकामना स्कुल, रोयल एकेडेमी, लिटिल बडि स्कुललगायत विभिन्न विद्यालयका चालक, सहचालक, प्रधानाध्यापक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कुल ८० जना सहभागीहरूले उक्त प्रशिक्षणमा सहभागी भई जानकारी हासिल गरेका थिए।
कार्यक्रममा सहभागी चालक तथा सहचालकहरूले यस्ता कार्यक्रमले आफ्ना कार्यप्रति थप सजग र जिम्मेवार बनाउन सहयोग पुग्ने भन्दै आयोजक गौतम स्कुल र संचालक सोनम लामाप्रति आभार व्यक्त गरेका थिए।
प्याब्सन पर्साको सहकार्यमा आयोजित यस कार्यक्रमले पर्सा जिल्लामा ट्राफिक सुरक्षाका लागि सकारात्मक सन्देश प्रवाह गरेको जनाइएको छ।



