बिरगंज, १४ वैशाख
प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने ‘आमाको मुख हेर्ने पर्व’ आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ। सोही अवसरमा बिकन सेकेन्डरी स्कुल, बिरगंजले आइतबार एक विशेष कार्यक्रमको आयोजना गरी स्कुलमा अध्ययनरत बालबालिकाका आमाहरूलाई सम्मान गरेको छ।
कार्यक्रम वरिष्ठ समाजसेवी प्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा र शैक्षिक सहिद मुकुन्द प्रसाद स्मृति खनाल प्रतिष्ठान पर्साकी अध्यक्ष मुना कुमारी खनालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्कुलका प्रिन्सिपल जय कुमार दनुवार, शिक्षिका रीना बिश्वकर्मा, शिक्षक सुबास भट्टराईलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्कुलका स-साना बालबालिकाहरूले आ-आफ्ना आमालाई खुशी पार्ने उद्देश्यले विभिन्न सांगीतिक प्रस्तुति र मनोरञ्जनात्मक गतिविधिहरू प्रस्तुत गरेका थिए। बालबालिकाको गीत, नृत्य र अभिनयले उपस्थित आमाहरूलाई भावविभोर बनाएको थियो।
स्कुलका सञ्चालक एवं वरिष्ठ समाजसेवी प्रकाश उपाध्यायले सम्बोधन गर्दै आमाप्रतिको कृतज्ञता व्यक्त गर्ने र आशीर्वाद लिने संस्कृतिको महत्वमाथि प्रकाश पारे। उनले भने, “यस दिन सन्तानहरूले आमालाई मीठा परिकार खुवाउने, नयाँ लुगा उपहार दिने र आशीर्वाद लिने परम्परा छ। आमा जीवित नभएकाहरूले तीर्थस्थलमा गई श्रद्धाञ्जली अर्पण गर्ने चलनले हाम्रो सांस्कृतिक सम्बन्धलाई बलियो बनाउँछ।”
धार्मिक विश्वास अनुसार आमाको मुख हेरेर आशीर्वाद लिँदा दीर्घायु र समृद्धि प्राप्त हुने मानिन्छ। कार्यक्रम शिक्षक राहुल साहको सञ्चालनमा भव्य र सफल रुपमा सम्पन्न भएको थियो।



