प्याब्सन बीरगंजद्वारा छात्रवृत्ति परीक्षा अन्तिम तयारीमा, पाँच सय विद्यार्थीको सहभागिता

Spread the love

वीरगंज, २०७८ साउन ७

वीरगंजमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) महानगर कमिटी र जिल्ला कार्यसमितिको संयुक्त समन्वयमा यस वर्षदेखि कक्षा ११ र १२ अध्ययन गर्न चाहने एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि छात्रवृत्ति परीक्षा आयोजना हुन लागेको छ। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तवले जानकारी दिएका छन्।

प्याब्सनद्वारा आयोजित छात्रवृत्ति परीक्षामा अहिलेसम्म ४४६ जना विद्यार्थीले अनलाइन फारम भरीसकेका छन् भने साउन ८ गते बिहान १० बजेसम्म फारम भरिने अन्तिम मिति तोकिएकाले सहभागी संख्या पाँच सय नाघ्ने अनुमान गरिएको छ। आवेदन दिने विद्यार्थीहरूमा काठमाडौंसम्मका साथै स्थानीय गरिब, विपन्न, जेहेन्दार तथा सामुदायिक विद्यालयका विद्यार्थीहरू पनि उल्लेख्य छन्।

परीक्षा यही साउन १० गते सञ्चालन हुनेछ। परीक्षाका लागि प्रवेशपत्र पानीटंकी–१० स्थित लिटिल बडी प्रि–स्कुलबाट परीक्षा समिति सदस्य विजय बलसँग सम्पर्क गरी लिन सकिने छ। कुनै कारणवश छुट भएका विद्यार्थीहरूले परीक्षा स्थलमा समेत प्रवेशपत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको नगर सचिव अमित आलोकले जानकारी गराए।

उनले भने, “छोटो समयमै सन्तोषजनक सहभागिता देखिएको छ, अब आगामी वर्षहरूमा अझ व्यवस्थित ढंगले कार्यक्रम सञ्चालन गरिने छ। विद्यार्थीहरूको संख्यामा पनि उल्लेखनीय वृद्धि हुने विश्वास लिएको छौं।”

परीक्षालाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गरिने जानकारी दिँदै समिति सदस्य सुमित कुमार गुप्ताले मुख्यतः अंग्रेजी, नेपाली, गणित र विज्ञान विषयमा प्रश्नपत्र तयार पारिने र अधिकांश प्रश्नहरू कक्षा १० कै पाठ्यक्रममा आधारित हुने बताए।

पत्रकार भेटघाट कार्यक्रममा प्याब्सन जिल्ला कार्यसमिति सदस्य शुलभ केसी, प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, नगर सचिव अमित आलोक, परीक्षा समिति सदस्य विजय बल र सुमित कुमार गुप्ता, प्रेस संयोजक दिपु बर्णवाल तथा नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईको उपस्थिति रहेको थियो।

Scroll to Top