काठमाडौंबाट ल्याइएको असहाब आलमको शव वीरगन्जमा मुस्लिम परम्पराअनुसार अन्त्येष्टि

Spread the love

वीरगन्ज, २८ भदौ 

 काठमाडौंमा जारी जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागी मृत्यु भएका वीरगन्ज–१२ मुर्ली निवासी २२ वर्षीय असहाब आलमको शनिबार अन्तिम दाह संस्कार गरिएको छ।

शुक्रबार राति काठमाडौंबाट घर ल्याइएका आलमको शव शनिबार बिहान जनाजा–शवयात्रा निकालेर मुर्ली पोखरी नजिकै रहेको कब्रस्तानमा मुस्लिम परम्पराअनुसार अन्त्येष्टि गरिएको हो। जनाजामा मुस्लिम समुदायसँगै हिन्दु धर्मावलम्बी समेत हजारौंको संख्यामा उपस्थित थिए।

केही महिनाअघि मात्र वैवाहिक बन्धनमा बाँधिएका आलमले मंगलबार काठमाडौंमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका थिए। पूर्व वडाध्यक्ष तुफान अन्सारीका अनुसार पठाओ राइडरका रूपमा यात्रुलाई गोङ्गबु पुर्‍याउँदै गर्दा प्रहरीको गोली पेट र छातीमा लागेको थियो। मंगलबार बिहानदेखि सम्पर्कविहीन भएका आलमको शव पछि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भेटिएको थियो।

ग्लोबल बिजनेस कलेज, वीरगन्जबाट कक्षा १२ उत्तीर्ण गरेका आलम स्नातक अध्ययनका लागि काठमाडौं गएका थिए। अध्ययनसँगै उनी पठाओ राइडरको पेशामा संलग्न थिए।

Scroll to Top