वीरगन्जमा सामाजिक सद्भाव जरुरी, विविधतामा एकताको आवश्यकता

Spread the love

वीरगन्ज, ४ वैशाख

विभिन्न जात, धर्म, भाषा र संस्कृतिको साझा बस्ती वीरगन्जमा सामाजिक सद्भाव कायम राख्नु आजको आवश्यकता बनेको छ। पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका विवादास्पद टिप्पणीहरू र सानातिना विवादहरूलाई लिएर तनावको सम्भावना बढ्न थालेपछि स्थानीय बुद्धिजीवी र नागरिक समाजले सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका छन्।

वीरगन्जमा मुस्लिम, हिन्दू, मारवाडी, मधेसी, पहाडी लगायत थुप्रै समुदायको बसोबास छ, र यहाँ विविध संस्कृतिहरू आपसमा मिसिएर बसेका छन्। यस्तै बहुलता भएको समाजमा सानातिना कुराले द्वन्द्व सिर्जना गर्ने सम्भावना अधिक हुने भएकाले सबै समुदायबीच आपसी समझदारी र सहिष्णुता आवश्यक देखिएको छ।

स्थानीय सामाजिक अभियन्ता रश्मि सिंह भन्छिन्, “हामीले फरक-फरक भेषभूषा, धर्म वा भाषा बोल्ने भए पनि वीरगन्ज हाम्रो साझा घर हो। यसलाई अशान्त बनाउने प्रयत्न विरुद्ध सबै सचेत हुनुपर्छ।”

नगरपालिकाले पनि सद्भाव बढाउन विभिन्न समुदायबीच संवाद कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। सुरक्षा निकायहरूले समेत सामाजिक सद्भाव खल्बलाउने कुनै पनि गतिविधिलाई कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।

विविधता हाम्रो शक्ति हो भन्ने सन्देशसहित स्थानीय युवा समूहहरूले सद्भाव र एकताको सन्देश फैलाउने अभियान चलाउन थालेका छन्। वीरगन्जको स्थायित्व, विकास र शान्तिका लागि सामाजिक सद्भाव अपरिहार्य भएकोमा सबैजना एकमत छन्।

Scroll to Top