वीरगञ्ज । पौष ३
प्रगतिशील लोकतान्त्रिक पार्टीले मधेश प्रदेशको संयोजकको जिम्मेवारी सुरेश चौधरीलाई प्रदान गरेको छ। नेपाल–भारत जनमैत्री संगठनका केन्द्रीय सदस्यसमेत रहेका चौधरीलाई पार्टीको संगठन विस्तार र प्रदेशस्तरीय नेतृत्व सुदृढ गर्ने उद्देश्यका साथ उक्त जिम्मेवारी दिइएको हो।
जीतपुर सिमरा उपमहानगरपालिका–१२, फतेपुर निवासी सुरेश चौधरी विगत धेरै वर्षदेखि राजनीतिमा सक्रिय रहँदै आएका छन्। डा. बाबुराम भट्टराई र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच राजनीतिक अलगावपछि नयाँ शक्ति पार्टी स्थापना भएको समयदेखि नै चौधरी डा. भट्टराईको नजिक रहेर सक्रिय राजनीतिक अनुभव सँगाल्दै आएका युवा नेताका रूपमा परिचित छन्।
संयोजकमा चयन भएसँगै विभिन्न राजनीतिक, सामाजिक तथा नागरिक क्षेत्रका व्यक्तिहरूले चौधरीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। पार्टी नेतृत्वले मधेश प्रदेशमा संगठनलाई थप मजबुत बनाउने, जनताको आवाज प्रभावकारी रूपमा उठाउने र लोकतान्त्रिक मूल्य–मान्यतालाई अघि बढाउन चौधरीको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरेको छ।
नवनियुक्त संयोजक सुरेश चौधरीले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै मधेश प्रदेशका जनताको हकहित, समावेशी विकास र लोकतान्त्रिक अभ्यासलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।


