प्याब्सन पर्साको आर्ट तथा ह्यान्डराइटिङ प्रतियोगिता सम्पन्न, ४०० भन्दा बढी विद्यार्थीको सिर्जनात्मक सहभागिता

Spread the love

वीरगञ्ज । पौष ४

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साको आयोजनामा शुक्रबार अन्तर–विद्यालय आर्ट तथा ह्यान्डराइटिङ (कला तथा हस्तलेखन) प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको सृजनात्मक सोच, कलात्मक सीप र सुन्दर हस्तलेखनको महत्त्व उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पर्सा जिल्लाका प्याब्सनसँग आबद्ध ३५ वटा विद्यालयका ४०० भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

वीरगञ्जस्थित राणीसती मन्दिर धर्मशालामा सम्पन्न प्रतियोगिताबारे जानकारी दिँदै प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले शैक्षिक पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले डिजिटल युगमा पनि राम्रो हस्तलेखन र कलात्मक अभिव्यक्तिको आफ्नै मूल्य र पहिचान रहेको उल्लेख गर्दै यस्ता प्रतियोगितालाई नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो।

प्रतियोगिताको व्यवस्थापन तथा समन्वयको जिम्मेवारी प्याब्सन पर्साका वरिष्ठ सदस्य तथा मुनलाइट स्कुलका संस्थापक सुशील केसीले सम्हाल्नुभएको थियो। उहाँका अनुसार आर्टतर्फ नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई ६ समूहमा र ह्यान्डराइटिङतर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई ४ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो, जसले निष्पक्ष मूल्याङ्कनमा सहजता ल्याएको आयोजकले जनाएको छ।

प्रतियोगितालाई निष्पक्ष र विश्वसनीय बनाउन काठमाडौँबाट विशेष निर्णायक मण्डल आमन्त्रण गरिएको थियो। निर्णायकहरूले रचनात्मकता, विषयवस्तुको स्पष्टता, रंग संयोजन, सफाइ र हस्तलेखनको सौन्दर्यका आधारमा मूल्याङ्कन गरेका थिए। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा समूहलाई मेडल, शिल्ड र प्रमाणपत्रसहित विभिन्न आकर्षक पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागी शिक्षक तथा अभिभावकहरूले प्रतियोगिताले विद्यार्थीको आत्मविश्वास बढाउनुका साथै विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा र सहकार्यको वातावरण सिर्जना गरेको प्रतिक्रिया दिएका छन्। आयोजकका अनुसार यस्ता सिर्जनात्मक गतिविधिले विद्यार्थीहरूको बौद्धिक, मानसिक र कलात्मक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षता तथा जिल्ला शिक्षा समन्वय समिति इकाइ प्रमुख मोतीराम भट्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, हिसान उपाध्यक्ष आलोक चौरसिया तथा प्याब्सनका केन्द्रीय पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Scroll to Top