बीरगञ्ज , माघ १८
पर्सा जिल्ला क्षेत्र नम्बर २ मा नेपाल जनता पार्टीका प्रतिनिधिसभा उम्मेदवार सन्तोष पटेलले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। अभियानअन्तर्गत उनले बीरगञ्ज महानगरपालिका वडा नम्बर २९ अन्तर्गत बसडिलवा र रतनपुर तथा पर्सागढी नगरपालिका वडा नम्बर ३ पारसचोक र वडा नम्बर ६ बागेश्वरी तितरौनामा स्थानीय नागरिकहरूसँग भावी योजना र विकासका विषयमा बृहत् छलफल गरेका छन्।
यस्तै, वडा नम्बर ८ हरपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ। “हर हर कमल, घर घर कमल” नाराका साथ गरिएको कार्यक्रममा युवाहरू, महिला तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा उनीहरूलाई विशेष सम्मानसमेत गरिएको नेपाल जनता पार्टीले जनाएको छ।
अभियानका क्रममा उम्मेदवार पटेलले सनातन हिन्दू राष्ट्र नेपाल र रामराज्य स्थापनाको अवधारणा प्रस्तुत गर्दै भ्रष्टाचारमुक्त समाज निर्माण, शिक्षा–स्वास्थ्यमा सुधार, सुशासन, विकास, सुरक्षा र रोजगारीका अवसर सिर्जना गर्दै क्षेत्रको समग्र समृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताए।
स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म जनताको आवाज उठाउने दृढ संकल्पका साथ नेपाल जनता पार्टी पर्सा–२ मा चुनावी मैदानमा उत्रिएको पार्टीका नेताहरूले बताएका छन्।


