बाराको फत्तेपुरमा ई. अरविन्द साह र जेनजीबीच संवाद,  ११ सदस्यीय वडा समिति गठन

Spread the love

बीरगञ्ज , माघ २४

बारा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ई. अरविन्द साहले जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १२ फत्तेपुरमा मतदाता भेटघाट तथा जेनजी युवासँग अन्तरक्रिया गरेका छन् । उनले स्थानीय जेन–जी युवाहरूसँग छलफल गर्दै उनीहरूको सोच, चुनौती र भविष्यका योजनाबारे संवाद गरेका थिए । 

छलफलका क्रममा युवाहरूले रोजगारीको अभाव, सीपमूलक तालिम, डिजिटल अवसर, गुणस्तरीय शिक्षा तथा स्थानीय स्तरमै सम्भावना सिर्जनाका विषय उठाएका थिए । उम्मेदवार साहले युवाका आवाजलाई नीतिगत तहसम्म पु–याउने प्रतिबद्धता जनाउँदै विकास, पारदर्शिता र अवसर विस्तारलाई आफ्नो प्राथमिकता रहेको बताएका छन् । 

उनले युवालाई देशमै सम्भावना देखिने वातावरण बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा समर्थन गर्न आग्रह गरे । यसै अवसरमा फत्तेपुर बजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा समिति गठन गरिएको छ । अजय चौधरीको सभापतित्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । 

समितिको उपसभापतिमा सिर्जना चौधरी, सचिवमा सुभाष चौधरी रहेका छन् । सदस्यहरूमा रविन्द्र सहनी, किरण चौधरी, गजेन्द्र साह, प्रदीप चौधरी, राधेकृष्ण खाँ, सलेन्द्र चौधरी, जोगिन्द्र चमार र सन्जु चौधरी रहेका छन् ।

ई. अरविन्द साह, पार्टीका केन्द्रीय परिषद् सदस्य डा. सुशिल साह लगायतका नेताहरूले नवगठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार ई. अरविन्द साहले वडा स्तरबाट पार्टीलाई मजबुत बनाउँदै जनताको समस्या समाधानमा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिए । 

उनले नवगठित समितिले संगठन विस्तार, युवालाई सक्रिय बनाउने तथा जनसरोकारका मुद्दा उठाउने काममा अग्रसर हुनुपर्ने बताए । साथै उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा बाराको क्षेत्र नं. ३ मा रास्वपालाई विजयी बनाउन वडा समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

Scroll to Top