वीरगञ्ज , चैत्र २५
जितपुर सिमरा उपमहानगरपालिका–१३, पोतामा सगरमाथा युवा समाज क्लबको आयोजनामा पाँचौं संस्करणको पुरुष खुला नकआउट भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ। वडा अध्यक्ष हेमनारायण चौधरीको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन गरिएको हो।

प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

उद्घाटन दिनमै दुई खेल सम्पन्न भएका छन्। पहिलो खेलमा आयोजक सगरमाथा युवा क्लबले नौदुर्गा दौरवा टिमलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ। त्यस्तै, दोस्रो खेल रोयल गोर्खा टिम चितवन र जुगुवा टिमबीच हुने तय भए पनि प्रतिकूल मौसमका कारण रोयल गोर्खा टिम उपस्थित हुन नसक्दा जुगुवा टिम स्वतः विजयी घोषित भएको थियो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष चौधरीले यस वर्ष प्रतियोगिताका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै आगामी वर्ष यसलाई बढाएर ७ लाख रुपैयाँ पुर्याइने घोषणा गरे। साथै, खेलकुद सामग्रीतर्फ छुट्याइएको बजेट २ लाखबाट बढाएर ३ लाख रुपैयाँ पुर्याइने पनि उनले बताए।

स्थानीय स्तरमा खेलकुदको विकास र युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।



