वीरगञ्ज , वैशाख २६
जितपुर–सिमरा उपमहानगरपालिका–१५ डुमरवानामा पहिलोपटक आयोजित “प्रथम खुला महिला भलिबल प्रतियोगिता” शुक्रबार उद्घाटनसँगै चार खेल सम्पन्न भएका छन्। डुमरवाना विकास मञ्चको आयोजनामा राष्ट्रिय विभूति माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेको हो।

प्रतियोगिताको उद्घाटन खेल आयोजक डुमरवाना विकास मञ्च र जनता मावि रजघट्टाबीच भएको थियो। प्रतिस्पर्धात्मक खेलमा आयोजक डुमरवाना विकास मञ्च विजयी भएको थियो।

त्यसैगरी दोस्रो खेल जनशक्ति क्लब कोल्भी र मकवानपुर हेटौडाबीच सम्पन्न भएकोमा जनशक्ति क्लब कोल्भीले जित हात पारेको थियो। तेस्रो खेल सर्लाही क्लब हरिपुर र जनशक्ति क्लब कोल्भी’ बि ‘बीच भएको थियो, जसमा सर्लाही क्लब विजयी बनेको आयोजकले जनाएको छ।

यस्तै सेमिफाइनल अन्तर्गत भएको अर्को खेलमा आयोजक डुमरवाना विकास मञ्च र जनशक्ति क्लब कोल्भी ‘ए’ आमनेसामने भएका थिए। उक्त खेलमा जनशक्ति क्लब कोल्बी ‘ए’ विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ।
अब शनिबार हुने फाइनल खेलमा सर्लाही क्लब हरिपुर र जनशक्ति क्लब कोल्भी बीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
उद्घाटन कार्यक्रममा वडा नम्बर १३ का वडाध्यक्ष हेमनारायण चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा बोल्दै उनले महिला खेलकुदको विकास र प्रतिभा प्रोत्साहनका लागि यस्ता प्रतियोगिता अत्यन्त महत्वपूर्ण हुने बताए।



