वीरगञ्ज , चैत्र २६
सञ्चारकर्मी मिथुन सर्राफमाथि ज्यान मार्ने नियतले गरिएको सांघातिक आक्रमणसम्बन्धी मुद्दाले नयाँ मोड लिएको छ। उच्च अदालत अस्थायी इजलास वीरगञ्जको आदेशपछि जिल्ला प्रहरी कार्यालय पर्साले सक्रियता बढाउँदै एक अभियुक्तलाई पक्राउ गरेको छ भने अन्य पाँच जना अझै फरार रहेका छन्।
गत २०८२ कार्तिक १ गते भएको आक्रमणको घटनामा प्रहरी अनुसन्धान सुस्त भएको भन्दै पीडित पक्षले उच्च अदालतमा रिट दायर गरेको थियो। सोही रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले २०८२ माघ १२ गते ‘रिट परमादेश’ जारी गर्दै दोषीहरूलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको थियो।
अदालतको आदेशलगत्तै प्रहरीले अनुसन्धान तीव्र बनाउँदै जाहेरीमा परेका ६ जनामध्ये साहिल सर्राफलाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको हो।
तर, अन्य पाँच जना प्रतिवादी अझै फरार रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न भनिएका व्यक्तिहरू खुला रूपमा घुमिरहनुले सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको स्थानीयले बताएका छन्।
पत्रकारमाथि कार्यक्षेत्रमै भएको यस्तो आक्रमणले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर चोट पुगेको भन्दै पत्रकार सम्बद्ध संघ–संस्थाहरूले बाँकी अभियुक्तहरूलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।



