वीरगञ्ज ,चैत्र २९
श्री सगरमाथा युवा समाजद्वारा आयोजित पाँचौं संस्करणको पुरुष खुल्ला नकआउट भलिबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको फाइनल खेलमा चितवन र गुल्मीबीच प्रतिस्पर्धा भएको थियो।

फाइनलमा चितवनले उत्कृष्ट प्रदर्शन गर्दै गुल्मीलाई सोझो सेटमा पराजित गरी उपाधि आफ्नो पोल्टामा पारेको हो। विजेता चितवनले १ लाख रुपैयाँ नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता गुल्मीले ५० हजार रुपैयाँ नगदसहित शिल्ड र प्रमाणपत्र हात पारेको छ।

खेललाई निष्पक्ष रूपले खेलाउन रेफ्री हिमाल के सी , जितेन्द्र चौधरी र कर्ण थापा ले सहयोग गरेका थिए ।

कार्यक्रम सगरमाथा क्लबका अध्यक्ष मिनबहादुर चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा जितपुर सिमरा उपमहानगरपालिकाका उपमेयर भोलाधिकारीको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिमा वडा नं. १३ का अध्यक्ष हेमनारायण चौधरी रहेका थिए।

जितपुर सिमरा–१३ स्थित वडा कार्यालयको खेलमैदानमा सम्पन्न फाइनल खेल निकै रोमाञ्चक बनेको थियो। खेलभर दर्शकहरूको उत्साहपूर्ण उपस्थिति देखिएको थियो।

कार्यक्रमको सहजीकरण जङ्गबहादुर चौधरीले गरेका थिए।

आयोजकले यस्ता प्रतियोगिता आगामी दिनहरूमा पनि निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



