वीरगञ्ज , वैशाख २५
डुमरवाना विकास मञ्चको आयोजनामा सञ्चालन हुन लागेको “प्रथम डुमरवाना महिला खुला भलिबल प्रतियोगिता” को सम्पूर्ण तयारी पूरा भएको छ।
जितपुरसिमरा उपमहानगरपालिका–१५ स्थित राष्ट्रिय विभूति माध्यमिक विद्यालयको खेलमैदानमा वैशाख २६ र २७ गते प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा आठ वटा महिला भलिबल टोलीको सहभागिता रहनेछ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगितामा आयोजक डुमरवाना विकास मञ्च, जनता मावि रजघट्टा, मकवानपुर हेटौंडा, जनशक्ति क्लब कोल्भी, सिमरा एकता बारा, सर्लाही भलिबल क्लब, राष्ट्रिय विभूति लगायतका टोली सहभागी हुनेछन्।
डुमरवाना विकास मञ्चका नवनिर्वाचित अध्यक्ष गोविन्द चौधरीका अनुसार प्रतियोगिता “बेस्ट अफ फाइभ” प्रणालीमा सञ्चालन गरिनेछ।
उनले यस्ता प्रतियोगिताले महिलाहरूलाई भलिबल खेलतर्फ आकर्षित गर्नुका साथै भविष्यमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।



