कांग्रेसको १५औँ महाधिवेशन : रमेश रिजाल निर्वाचन प्रक्रियाबाट बाहिरिए

Spread the love

वीरगन्ज , असोज २०

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पर्साका नेता रमेश रिजाल पार्टीको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियाबाट बाहिरिएका छन्।

काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट विभिन्न पदमा नेताहरूले उम्मेदवारी दिने तयारी गरिरहेका बेला रिजालले भने यसपटक केन्द्रीय समितिको कुनै पनि पदमा उम्मेदवारी नदिने निर्णय गरेका हुन्।

चार दशकभन्दा बढी समयदेखि पार्टी संगठन र खुला राजनीतिमा सक्रिय रिजाल निर्वाचन प्रक्रियाबाट अलग भएपछि पर्साको कांग्रेस राजनीतिमा यसलाई चासोका साथ हेरिएको छ।

रिजालले युवा पुस्तालाई अवसर प्रदान गर्न आफू निर्वाचन प्रक्रियाबाट अलग भएको बताएका छन्। १५औँ महाधिवेशनमा कांग्रेसको युवा पुस्तामा उत्साह देखिएको भन्दै उनले युवाले अवसर पाए संगठन र समाजका लागि सकारात्मक काम गर्न सक्ने विश्वास व्यक्त गरे।

“पार्टी सभापति तथा नेतृत्व वर्गलाई मेरो आवश्यकता महसुस भएमा केन्द्रीय समितिमा ल्याउने विभिन्न बाटा खुला छन्। त्यसैले यसपटक युवा पुस्तालाई अवसर दिने निष्कर्षमा पुगेको हुँ,” रिजालले भने।

यसैबीच नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले काठमाडौंमा जारी महाधिवेशनको उत्साह राजधानीमा मात्र सीमित नभई देशभर देखिएको बताए। उनका अनुसार पर्साबाट पार्टीका विभिन्न पदमा उम्मेदवारी दिन एक दर्जनभन्दा बढी नेता तयारी अवस्थामा छन्, जसमध्ये अधिकांश युवा छन्।

कुर्मीका अनुसार केन्द्रीय सहमहामन्त्री पदमा अजयकुमार चौरसिया र सुरेन्द्र चौधरीले उम्मेदवारी दिने तयारी गरेका छन्। यसअघि सार्वजनिक विवरणअनुसार चौरसियाले मधेसी क्लस्टर र चौधरीले आदिवासी जनजाति क्लस्टरतर्फबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

त्यस्तै, केन्द्रीय सदस्य पदका लागि अनिल रुगंटा, जनार्दनसिंह क्षेत्री, रामरूप कुर्मी, राकेश सिंह, विजय सर्राफ, असर्फी साह र सहरुम राउत गद्दीलगायत नेताहरूले विभिन्न क्लस्टरबाट उम्मेदवारी दिने तयारी गरिरहेको कुर्मीले जानकारी दिए।

रिजालको उम्मेदवारी नदिने निर्णयसँगै पर्साबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्न आकांक्षी नयाँ पुस्ताका नेताहरूका लागि थप अवसर सिर्जना भएको छ। महाधिवेशनको निर्वाचन प्रक्रियामा पर्साबाट हुने उम्मेदवारी र प्रतिस्पर्धालाई जिल्लाको कांग्रेस राजनीतिमा महत्वपूर्ण रूपमा हेरिएको छ।

Scroll to Top