वीरगञ्ज , कार्तिक ५
वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा राजस्व संकलनको लक्ष्य पार गरेको छ। कार्यालयको मासिक प्रगति विवरणअनुसार असोज १ गतेदेखि ३१ गतेसम्म २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन भएको छ। यो मासिक लक्ष्यको १०१ प्रतिशत हो।
प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार भन्सार विभागले असोज महिनाका लागि २६ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरेको थियो। कार्यालयले निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको उनले जानकारी दिए।
राजस्वमा हवाई इन्धन पहिलो स्थानमा
असोज महिनामा राजस्व संकलनमा योगदान पुर्याउने प्रमुख वस्तुमध्ये हवाई इन्धन (एटीएफ) पहिलो स्थानमा रहेको छ। कार्यालयका अनुसार ८६४ किलो लिटर हवाई इन्धन आयातबाट दुई अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
त्यस्तै, दोस्रो स्थानमा रहेको एलपीजी ग्यासको आयातबाट एक अर्ब ८० करोड रुपैयाँ राजस्व प्राप्त भएको छ। विवरणअनुसार उक्त अवधिमा ९ हजार ७०५.१८० मेट्रिक टन एलपीजी ग्यास आयात भएको जनाइएको छ।
यसैगरी, दुई लाख ८३ हजार ५५९ केजी अलकत्रा (बिटुमिन) आयातबाट एक अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन भएको छ। राजस्व योगदानका आधारमा बिटुमिन तेस्रो स्थानमा रहेको छ।
फलफूलतर्फ स्याउ तथा नास्पति आयातबाट पनि उल्लेख्य राजस्व संकलन भएको छ। असोज महिनामा तीन लाख ५० हजार ८७४ केजी स्याउ तथा नास्पति आयातबाट करिब ५० करोड रुपैयाँ राजस्व प्राप्त भएको भन्सार कार्यालयले जनाएको छ।
तीन महिनामा वार्षिक लक्ष्यको ९७.९७ प्रतिशत राजस्व संकलन
चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोजसम्मको अवधिमा वीरगञ्ज भन्सार कार्यालयले वार्षिक राजस्व लक्ष्यको ९७.९७ प्रतिशत संकलन गरेको विवरणमा उल्लेख छ।
कार्यालयका अनुसार असोज महिनासम्मको कुल राजस्व लक्ष्य ७० अर्ब ५६ करोड रुपैयाँ रहेकामा ६९ अर्ब १३ करोड रुपैयाँ संकलन भएको छ।
असोज महिनामा मासिक लक्ष्यभन्दा बढी राजस्व संकलन हुनु वीरगञ्ज भन्सार कार्यालयका लागि सकारात्मक उपलब्धि भए पनि वार्षिक लक्ष्यअनुसार राजस्व संकलनको प्रगति कायम राख्नु आगामी महिनाका लागि महत्त्वपूर्ण हुनेछ।
वीरगञ्ज भन्सार नेपालको प्रमुख व्यापारिक नाकामध्ये एक भएकाले यहाँबाट हुने आयात तथा त्यसमा लाग्ने भन्सार महसुलले सरकारी राजस्वमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।


