वीरगञ्ज , कार्तिक ७
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधिसम्मत प्रक्रियाबाट मात्रै उम्मेदवारीको टिकट वितरण गरिने बताएका छन्। उनले पार्टीको विधि र प्रक्रियाभन्दा बाहिर गएर कसैले पनि टिकट नपाउने स्पष्ट पार्दै योग्य र सक्षम व्यक्तिलाई विचलित नहुन आग्रह गरेका छन्।
शुक्रबार राति स्थानीय क्लासिक बैंक्वेटमा सांसद पन्तद्वारा आयोजित बडादसैँको शुभकामना आदानप्रदान तथा टीका कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
पार्टीको ‘हामी आउँदैछौँ’ कार्यक्रमको प्रसङ्ग जोड्दै पन्तले यसपटकको निर्वाचनमा रास्वपाले उम्मेदवार छनोटका लागि उम्मेदवार क्लब, पोलिटिकल प्रोक्सिमिटी, प्रारम्भिक निर्वाचन र समावेशिताको अवधारणा अघि सारेको बताए। उक्त प्रक्रियाअन्तर्गत प्रशिक्षित, परीक्षित र योग्य व्यक्तिले मात्रै पार्टीको आधिकारिक उम्मेदवार बन्ने अवसर पाउने उनको भनाइ थियो।
‘कोही जिल्ला सभापतिको नजिक भएकै आधारमा, प्रदेश सभापतिसँग निकट सम्बन्ध भएकै कारण वा कुनै माननीयको नातेदार भएकै भरमा टिकट पाउने अवस्था हुँदैन,’ पन्तले भने, ‘पार्टीको विधि र प्रक्रियाअनुसार योग्य व्यक्तिले अवसर पाउने भएकाले कोही पनि विचलित हुनुपर्दैन।’


